पोखरा ।
नेपाल पर्यटन बोर्ड गण्डकीले झण्डै डेढ वर्ष पछि नेतृत्व पाएको छ । नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछाने प्रदेश कार्यालयको प्रमुखको जिम्मेवारी लिएर आएसंगै गण्डकी कार्यालयले डेढ वर्षपछि नयाँ नेतृत्व पाएको हो ।
तत्कालिन निर्देशक काशीराज भण्डारीले २०८० को असारमा राजिनामा दिएपछि निमित्त प्रमुखको भरमा कार्यालय चलेको थियो । निमित्त प्रमुख नविन पोखरेल काठमाडौं सरुवा भएपछि ६ महिना लेखा अधिकृत सागर श्रेष्ठको भरमा कार्यालय चल्यो । कार्यसम्पादनमै समस्या आएपछि पर्यटन बोर्डले बिचमा फेरी केही समय नवीन पोखरेललाई नै कामकाजका लागि पोखरा खटाएको थियो । अब लामिछाने आएसंगै थप कर्मचारी समेत पर्यटन बोर्ड गण्डकी कार्यालयले प्राप्त गरेको छ । प्रबन्धक पद भने अझै खाली छ ।
पर्यटकीय राजधानी सहर पोखरा गण्डकी प्रदेशको समेत राजधानी हो । गण्डकीका ११ वटै जिल्ला कार्यक्षेत्र रहेको पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयमा कर्मचारी नहुँदा बिगतमा कार्यालयले सम्पादन गर्नुपर्ने नियमित काम समेत रोकिएका थिए । विभिन्न खालका मेला महोत्सव भइरहने पोखरामा विभिन्न पर्यटकीय गतिविधि भइरहन्छन् ।
सन २०२५ लाई पोखरा भ्रमण वर्षको रुपमा मनाईँदैगर्दा पर्यटकीय राजधानी सहर पोखरामा पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयले नयाँ नेतृत्व पाउँदा यहाँका व्यवसायी उत्साहित भएका छन् । पर्यटन क्षेत्रमा २६ वर्षदेखि संलग्न निर्देशक लामिछाने १६ वर्षअघि नेपाल पर्यटन बोर्डमा प्रवन्धकमा सेवा प्रवेश गरेका थिए । उनले पोखरालाई साँच्चिकै पर्यटनको राजधानी बनाउन तथा पोखरा भ्रमण वर्ष २०२५ मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यमा आफूले योगदान दिने प्रतिबद्धता जनाएका छन्। बुधबार गण्डकी प्रदेश कार्यालय पोखरा हाँजिर भएका उनले बिहीबार विभिन्न कार्यक्रममा पुगेर पर्यटन बोर्ड कार्यालयले अब आफ्नो पूर्ण क्षमताका साथ काम गर्ने सन्देश दिएका छन् ।
समग्र गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धनका लागि नयाँ योजनासहित नयाँ आयाम थप्नेगरी काम गर्ने उनले बताए । बोर्डमा कुशल व्यवस्थापकको पहिचान बनाउन सफल लामिछानेले यस अगाडि पर्यटन बोर्डको प्रवक्ताको रुपमा कार्यरत थिए । आफ्नो अनुभव र नेतृत्व क्षमताका माध्यमबाट गण्डकी प्रदेशमा पर्यटन प्रवर्द्धनलाई नयाँ उचाइमा पुर्याउने उनले केन्द्रभागलाई प्रतिक्रिया दिएका छन् ।