पोखरा ।
पोखरा महानगरपालिकाले पोखराका पर्यटकीय संघसंस्थाहरुसंग पोखरा भ्रमण वर्ष २०२५ का लागि दिन सक्ने प्याकेज उपलब्ध गराउन आग्रह गरेको छ । महागरले शनिबार एक सार्वजनिक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।
विगतमा महानगरका समिति मार्फत यस्तो आग्रह गरिएको र केही प्याकेज प्राप्त भएको जनाएको महानगरले छुट भए आज कार्यालय समय भित्र यस्ता प्याकेज उपलब्ध गराउन आग्रह गरेको छ । ‘संघसंस्थाहरू, पर्यटन सम्बद्ध व्यवसायीक प्रतिष्ठानहरू र पर्यटन क्षेत्रमा लामो समयदेखि काम गर्दै आइरहेका विभिन्न समितिहरूलाई यसअघि पनि आ–आफ्नो तर्फबाट भ्रमण वर्ष अवधि भर पर्यटन प्रवर्द्धन तथा पर्यटकहरूका लागि समेत दिन र पस्कन सक्ने ‘पर्यटन प्याकेजहरू’ उपलब्ध गराउन अनुरोध गरिएको र कुनै कारण बस् छुट हुन गएकाहरूको हकमा उल्लेखित प्याकेजहरू औपचारिक रूपमा यही माघ २८ गतेसम्म कार्यालय समय भित्र उपलब्ध गराइदिनुहुन सवैमा पुनः सूचित गरिन्छ ।’ सर्वजनिक सूचनामा उल्लखे गरिएको छ ।
‘महानगरले यही ३ फागुनमा सन् २०२५ लाई भव्य समारोहका बिच बिहान ११ः३० बजे पोखरा प्रदर्शनी केन्द्र, नयाँबजारमा ‘पोखरा भ्रमण वर्ष २०२५’ को औपचारिक घोषणा गर्ने यस अगाडि नै सार्वजनिक गरिसकेको छ । आगामी ३ फागुन अर्थात १५ फेब्रुअरीको दिन विहान ११ बजे नेपाल सरकारका उच्च पदस्त ब्याक्तिहरुको उपस्थितीमा पोखरा भ्रमण वर्षको शुभारम्भ गरिने बताए ।
भ्रमण वर्ष सफल बनाउनका लागि प्रमुख आचार्यको नेतृत्वमा एक हजार सदस्यीय मुल समारोह समिति निर्माण गरिएको छ । आचार्यकै नेतृत्वमा निर्देशक समिति र पर्यटन क्षेत्रबाट प्रतिनिधित्व हुने गरी कार्यसम्पादन समिती गठन गरिएको महानगरका प्रमुख धनराज आचार्यले जानकारी दिएका छन् । त्यसैगरी मुल समारोह समितिमा महानगर भित्रका राजनीतिक दलका प्रमुख र वडा अध्यक्षहरु, सल्लाहकार समितिमा पोखरा महानगर परिषद, कास्कीका चार वटै सुरक्षा निकाय र राजनीतिक दलका प्रतिनिधीहरु छन ।
पोखरा महानगर र गण्डकी प्रदेश सरकारको संयुक्त आयोजनामा उक्त कार्यक्रमको आयोजना हुने र उक्त कार्यक्रम पूर्व पोखराको ३३ वटै वडाको प्रतिनिधित्व हुने गरी झांकी तथा ¥यालीको आयोजना हुनेछ । भने पर्यटनको क्षेत्रबाट एक वटा ब्यानर सहित झांकी तथा र्यालीको आयोजना गरिने छ । भ्रमण वर्ष सफल बनाउनका लागि विभिन्न देशका राजदुतहरुको समेत सहभागी रहने छन् ।
पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले पोखरा भ्रमण वर्षले पर्यटनको क्षेत्रमा राम्रो हुने वताउदै त्यसलाई सफल बनाउनका लागि पर्यटनसंग सम्बद्ध संघ संस्थाहरुले सहकार्य गरेर अगाडी बढ्ने र विभिन्न प्याकेज घोषणा हुने जानकारी दिएका छन् ।
होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले भ्रमण वर्षभरी पोखरामा सञ्चालित होटलमा २० प्रतिशत छुट दिने जानकारी दिए । उनका अनुसार यसलाई अझै बढाउनका लागि संघमा छलफल भइरहेको छ । टान पोखराका अध्यक्ष कृष्ण आचार्यले पोखरा भ्रमण वर्षको अवसरमा पोखरा क्षेत्रमा सञ्चालन हुने ट्रेकिङको गतिविधीमा २५ प्रतिशतसम्म छुट दिने यस अगाडि नै जानकारी दिएका छन् ।















