यूएईका राजपरिवार सदस्यको निधनले पोखरा विमानस्थलको औपचारिक समारोह स्थगित

फ्लाईदुबईको उडान निर्धारित तालिकामै, व्यवसायिक अन्तर्राष्ट्रिय उडानको प्रतिक्षाको अन्त्य हुँदै

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलोपटक नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडानका लागि हुने भनिएको औपचारिक कार्यक्रम स्थगित भएको छ । फ्लाईदुबईको पहिलो नियमित उडानका लागि बुधबार (सेप्टेम्बर २३) साँझ ६ बजेर १५ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।

त्यस अवसरमा हुने औपचारिक औपचारिक स्वागत समारोह स्थगित भएको पोखरा महानगरका प्रमुख धनराज आचार्यले जानकारी दिए । उनका अनुसार संयुक्त अरब इमिरेट्स (यूएई) का राजपरिवारका सदस्य शेख अहमद बिन राशिद अल मक्तुमको दुःखद निधनका कारण औपचारिक समारोह स्थगित गरिएको हो । तर स्वागत कार्यक्रम स्थगित भए पनि फ्लाईदुबईको उडान भने पूर्वनिर्धारित तालिकाअनुसार सञ्चालन हुने उनले जानकारी दिए । पहिलो उडानबाट आउने यात्रु तथा विमानलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थित भएर स्वागत भने गर्ने तयारी गरिएको छ ।

फ्लाईदुबईले पोखरा–दुबई रुटमा दैनिक सेवा सञ्चालन गर्नेछ । दुबईबाट दिउँसो १२:00 बजे उड्ने विमान साँझ ६:१५ बजे पोखरा आइपुग्ने र पोखराबाट साँझ ७:१५ बजे दुबईका लागि उड्ने तालिका छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको तीन वर्षभन्दा बढी समयपछि नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुन लागेको हो । यसअघि पोखरा विमानस्थलबाट चीनलगायत केही मुलुकमा अन्तर्राष्ट्रिय चार्टर उडान भएका थिए । तर ती उडानहरू नियमित तालिकाअनुसार सञ्चालन भएका थिएनन् । त्यसैले फ्लाईदुबईको सेवा पोखरा विमानस्थलबाट हुने पहिलो नियमित अर्थात् निर्धारित व्यावसायिक अन्तर्राष्ट्रिय उडान बन्न लागेको हो ।

पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुनुलाई पर्यटन व्यवसायी तथा सरोकारवालाले लामो समयदेखिको प्रतीक्षाको अन्त्यका रूपमा लिएका छन् । पोखरा पर्यटन परिषदका अध्यक्ष हरि भुजेलले पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुनुलाई पोखराको पर्यटन विकास र अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारको महत्वपूर्ण सुरुवातका रूपमा लिएको बताए । उनले विशेषगरी दुबईमार्फत विभिन्न मुलुकबाट आउने पर्यटकका लागि पोखरा सिधै जोडिनु पर्यटन क्षेत्रका लागि महत्वपूर्ण अवसर बन्न सक्ने अपेक्षा प्रकट गरे । दुबईसंग सिधा हवाई पहुँच विस्तार भएसंगै अन्य देशका ध्वजाबहाक जहाजहरुले पनि सेवा सुरु गर्ने उनले अपेक्षा प्रकट गरे ।

  • ६ आश्विन २०८३, मंगलवार ०९:२९ प्रकाशित