पोखरा विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरलाई ट्याक्सी सेवा प्रालिको स्वागत

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरेली ट्याक्सी सेवा प्रालिले सरुवा भएर आएका नागरिक उड्डयन प्राधिकरण कार्यालय पोखराका प्रमुख प्रेमनाथ ठाकुरलाई पोखरामा स्वागत गरेका छन् । आइतबार एक कार्यक्रमसहित प्रमुख ठाकुरलाई विमानस्थलमा स्वागत गरिएको हो । स्वागत पछि बोल्दै प्रमुख ठाकुरले पोखरा विमानस्थलमा सञ्चालित ट्याक्सी चालकका लागि डिजिटल प्रतिक्षालय निर्माण गरिदिने बताए । उनले १ सय २० भन्दा बढी चालक रहेको पोखरा विमानस्थलमा घाम पानी नभनी पर्यटक यात्रुहरुलाई सेवा दिइरहेकाले चालकहरुलाई प्राधिकरणको लगानीमा आकर्षक प्रतिक्षालय निर्माण गरिदिने उल्लेख गरे ।

प्रमुख ठाकुरले ट्याक्सी चालक विमानस्थलको गहना भएकाले चालकहरुलाई प्रधिकरणबाट उपलब्ध हुने सेवा सुविधामा समेत कुनै कमी हुन नदिने बताए । ठाकुरले यातायात ब्यवस्था कार्यालय, ट्राफिक कार्यालय, सिभिल एभिएसन, एयरपोर्ट अथोरिटी र व्यवसायीको सहकार्यमा परिचय पत्र उपलब्ध गराउने र पोखरा भित्रका विभिन्न स्थानका लागि रेट लिस्ट समेत तयार गर्ने प्रतिवद्धता जनाए ।

फागुनदेखि त्यसको काम सुरु हुने जानकारी दिँदै उनले चालकहरुलाई मादक पदार्थ सेवन नगरी सवारी सञ्चालन गर्न समेत आग्रह गरे । मापसे गरी सवारी चलाए एयरपोर्टमा प्रवेश निषेध गर्ने ठाकुरको भनाइ थियो । चालकहरुले होटलवालासंग बार्गेनिङ गरी दुख दिने समेत काम भइरहँदा पोखरा विमानस्थलका चालकहरु मर्यादित र अनुशासित रहेको पाएको उनले बताए ।

पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष शोभाकान्त पौडेलले पोखरा अन्तराष्ट्रिय विमानस्थलमा सञ्चालित ट्याक्सी चालकहरुका लागि छुट्टै किसिमको परिचय पत्र आवश्यक रहेको बताए । पोखरामा सञ्चालित ट्याक्सीहरुले भाडा समायोजन गरि सञ्चालन गरिएको भएतापनि बेला वेलामा विभिन्न कुराहरु उठ्ने भएकाले महानिर्देशकले पोखरा बिमानस्थलबाट पोखराका विभिन्न स्थानहरुका लागि त्रिभुवन विमानस्थलमा जस्तै भाडा लिस्ट निर्माण गरिदिन समेत आग्रह गरे ।

ब्यवसायीहरुले विमानस्थललाई कर तिर्न तयार रहेको र त्यसका लागि विमानस्थल भित्रै टिकट बुकिङ काउण्टर निर्माण गरिदिन समेत आग्रह गरे । त्रिभुवन विमानस्थलमा जस्तै काउण्टर निर्माण गरी विमानस्थलमा आउना साथ यात्रुले प्रि बुकिङ गरी ट्याक्सी सेवा लिएमा कोही यात्रुहरु नठगिने उनको भनाइ रहको थियो । विभिन्न समयमा प्रशिक्षणहरु प्रदान गर्दै आइरहदा आगामी दिनमा पर्यटन कार्यालय संग सहकार्य गरी भाषा र गाइड सम्बन्धी तालिमहरु समेत प्रदान गरिने बताए ।

पोखरा अन्तराष्ट्रिय विमानस्थल ट्याक्सी सेवा केन्द्रका सचिव जितु परियार प्रशिक्षणमा सिकेका कुरालाई ब्यवहारमा उतार्ने प्रतिवद्धता ब्यक्त गरे । महाप्रवन्धक प्रेमनाथ ठाकुर पोखरा विमानस्थलको प्रमुख भएर आइसकेपछि विमानस्थलमा सञ्चालित ट्याक्सी चालकहरुमा हौसला बढेको समेत बताए ।
त्यस्तै पोखरेली ट्याक्सी सेवा प्रालिका बरिष्ठ उपाध्यक्ष सूर्य बहादुर थापाले ४३ वटा सेवा केन्द्र रहेको पाखरेली ट्याक्सी सेवा प्रालिबाट छानेर पोखरा विमानस्थलका लागि उच्च स्तरिय सवारीहरु सञ्चालन गरिरहेको बताए । ३६० रुपैया प्रति दिन भाडा तिर्नु परिरहेको बाध्यतालाई हटाएर मासिक रुपमा भाडा तिर्ने ब्यवस्था मिलाइदिन समेत थापाले आग्रह गरे ।

पोखरेली ट्याक्सी सेवा प्रालिका महासचिव युवराज भट्टराईले सञ्चालन गरेको कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक शोभा पाण्डे चालकहरुलाई ट्राफिक नियम र दुर्घटना न्युनीकरण सम्बनधी प्रशिक्षण प्रदान गरेकी थिइन ।

  • २७ माघ २०८१, आईतवार १५:०८ प्रकाशित