टी – २० सिरिज : नेपाल अन्तिम खेलमा पनि पराजित

केन्द्रभाग मिडिया

त्रिकोणात्मक टी-२० सिरिजको अन्तिम खेलमा पनि नेपाली महिला टोली पराजित भएको छ। शुक्रबार त्रिवि क्रिकेट मैदानमा भएको सिरिजको आफ्नो अन्तिम खेलमा नेपाल थाइल्यान्डसँग ७ विकेटले पराजित भएको हो। नेपालले प्रस्तुत गरेको ८२ रनको लक्ष्य थाइल्यान्डले ३ ओभर पहिले नै मात्रै ३ विकेटको क्षतिमा पूरा गर्‍यो।

थाइल्यान्डको जितमा कप्तान नरुएमोल चैवैले नटआउट २७ रन बनाउँदा नाटय बूचाथम ११, अफिसरा सुवान्चोन्रथी ५ र नननपात कोणचारोएकेले २३ रन जोडिन्। फनिता माया ९ रनमा अविजित रहिन्। नेपालका लागि कप्तान इन्दु बर्माले २ तथा पूजा महतोले एक विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८१ रन बनाएको हो। नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक १७ रन बनाइन्। उनले २९ बलमा एक चौकाको मद्दतमा उक्त रन बटुलेकी हुन्। बिन्दु रावलले ७, पूजा महतो ६, रुविना क्षेत्री १ र कप्तान इन्दु बर्माले १० रन जोडिन्।

कविता जोशीले १४ रन बनाउँदा सीता राना मगर ७ र राजमती ऐरी ११ रनमा नटआउट रहिन्। एलिसा यादव पहिलो बलमै आउट भइन्। थाइल्यान्डकी ओनिचा कम्चोम्फुले ३ विकेट लिँदा सुलीपोर्न लाओमी, नटाया बुचाथाम र चानिदा सुथिरुअङ समान एक विकेट लिए।

नेपाल यसअघि ५ वटै खेलमा पराजित भएको थियो। थाइल्यान्डले ६ खेलमा एक खेलमात्रै हार्‍यो। नेपाल घरेलु मैदानमा थाइल्यान्ड र नेदरल्यान्ड्ससँग समान तीन खेल खेल्दा जितबिहीन बन्यो।

  • २५ माघ २०८१, शुक्रबार १६:२८ प्रकाशित