चितवन ।
चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको मुद्दाको थुनछेक आदेश आजै आउने भएको छ ।
चितवनको साहारा चितवन सहकारी ठगी प्रकरणको मुद्दामा रविविरुद्धको थुनछेक बहस बेलैमा सकिएकोले आजै आदेश गर्ने तयारी गरिएको हो ।
चितवन जिल्ला अदालतमा न्यायाधीश दयाराम ढकालको इजलासमा बुधबार र आज बिहीबार थुनछेक बहस भएको हो । थुनछेक बहससँगै जवाफी बहस पनि सकिएकोले अदालतले आजै आदेश गर्ने तयारी गरेको हो ।
साहारा चितवन सहकारीको ठगी प्रकरणमा बयान दिन लामिछाने बुधबार अदालत उपस्थित भएका थिए । उनको थुनछेक बहस नसकिएपछि बुधबार अदालतले प्रहरीको जिम्मा लगाइएको थियो ।
कास्की, काठमाडौं र रुपन्देहीमा रविविरुद्ध संगठित अपराधमा समेत मुद्दा दर्ता गरिए पनि चितवनमा भने ठगीमा मात्रै मुद्दा दायर भएको छ ।अदालतको थुनछेक आदेशसँगै लामिछाने छुट्ने वा थुनामा जाने आजै टुंगो लाग्नेछ ।














