पोखरा ।
म्याग्दे गाउँपालिकाको आयोजनामा आगामी फागुन १३ देखि ‘दोस्रो म्याग्दे गाउँपालिका अध्यक्ष कप हुने भएको छ । पालिकाले बिहीबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रम मार्फत प्रतियोगिताबारे जानकारी दिएको हो ।
म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीका अनुसार गण्डकी प्रदेश पालिका स्तरीय ११ ए साईड नकआउट पुरुष फुटवल प्रतियोगिता, जिल्ला स्तरीय सी लेभल व्याडमिन्टन प्रतियोगिता र म्याग्दे गाउँपालिका वडा स्तरीय पुरुष तथा महिला भलिवल प्रतियोगिता २०८१ हुनेछन् ।
‘म्याग्देको पर्यटन विकासका लागि खेलकुद’ भन्ने मुल नाराका साथ आयोजना हुने प्रतियोगिता २२ फागुनसम्म हुने भएको छ । प्रतियोगिता म्याग्दे गाउँपालिका वडा नं ५ छाङ्ग पाटनमा हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
फुटवल प्रतियोगितामा प्रथम हुनेलाई ३ लाख, ट्रफी, मेडल र प्रमाण-पत्र, द्वितीय हुनेलाई १ लाख ५० हजार, ट्रफी, मेडल र प्रमाण-पत्र र सेमीफाइनल पुग्ने दुई टिमलाई १५-१५ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए ।
अध्यक्ष श्रेष्ठको अनुसार पुरुष फुटवलमा उत्कृष्ट खेलाडीलाई नगद दश हजार र विधागत तर्फ सर्वाधिक गोलकर्ता, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट प्रशिक्षकलाई जनही पाँचहजार नगद पुरस्कार प्रदान गरिनेछ ।
यस्तै जिल्लास्तरीय सी लेभल व्याडमिन्टन प्रतियोगिता फागुन १६ र १७ गते म्याग्दे गाउँपालिका वडा नं ४ स्थित थर्पु व्याडमिन्टन क्लवको कवर्डहलमा सञ्चालन गरिनेछ।
प्रतियोगितामा प्रथम हुने टोलीलाई ५० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण-पत्र दोस्रो हुने टोलीलाई ३० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र, सेमिफाइनल पुग्ने दुई टोलीलाई १०÷१० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
म्याग्दे गाउँपालिका वडा स्तरीय पुरुष तथा महिला भलिवल प्रतियोगिता फागुन ८ देखी १० सम्म सञ्चालन हुने भएको छ । प्रतियोगितामा म्याग्दे गाउँपालिका अन्तर्गतका ७ वडाका पुरुष तथा महिला भलिवल खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ।
प्रतियोगितामा प्रथम हुने टोलीलाई ८० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण–पत्र दोस्रो हुने टोलीलाई ५० पचास हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने भएको छ।
पुरुष तथा महिला भलिवलमा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट लिवरो र उत्कृष्ट प्रशिक्षकलाई पालिकाको लोगो अंकित खेलकुद पोसाक प्रदान गरिने आयोजकले बताएको छ।
प्रतियोगिता सञ्चालनका लागि म्याग्दे गाउँपालिकाले आर्थिक २०८१-०८२ मा २० लाख विनियोजन गरिएको अध्यक्ष श्रेष्ठले बताए । प्रतियोगिता सम्पन्न गर्नका लागि जनकल्याण युवा क्लव म्याग्दे-५, न्यु भिजन युवा क्लव म्याग्दे-२, थर्पु व्याटमिन्टन क्लव म्याग्दे-४ र आदर्श नमुना क्लव म्याग्दे(४ को विशेष सहयोग रहने आयोजकले बताएको छ।
म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रेष्ठले स्थानीय तहबाट नै खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी दिए । उनले खेल क्षत्रको विकासका लागि केन्द्र, प्रदेश र स्थानीय तह सबै मिलेर अगाडि बढ्नुपर्ने धारणा राखे ।
पत्रकार भेटघाट कार्यक्रममा पत्रकार महसंघ गण्डकीका अध्यक्ष रमेश पौडेल र कास्की अध्यक्ष माधव बराल लगायतले बोलेका थिए ।















