पोखरा ।
नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी-२०आई श्रृंखला आजदेखि काठमाडौंमा सुरू हुँदै छ । श्रृंखला अन्तर्गत आज पहिलो खेल नेपाल र नेदरल्याण्ड्स बीच हुनेछ । खेल दिउँसो सवा १२ बजेदेखि सुरू हुनेछ ।
नेपाल र नेदरल्याण्ड्स बीच आज हुने खेल नै दुई देशको महिला टिमबीचको पहिलो खेल हो । थाइल्याण्डसंग यस अगाडि नै प्रतिस्पर्धा भइरहेको भएपनि नेपालमा नै भने पहिलो पटक प्रतिस्पर्धा हुँदैछ ।
नेपालमा तीन टोली सम्मिलित भएर टी-२०आई श्रृंखला हुन लागेको यो पहिलोपटक हो । यसअघि युगाण्डासँग द्विदेशीय श्रृंखला भएको भएपनि तीन टोली सम्मिलित भएर श्रृंखला आयोजना हुन लागेको भने पहिलोपटक हो ।
श्रृंखलामा सबै टोलीले एकअर्कासँग ३-३ खेल खेल्ने छन् । फाइनल खेल भने हुने छैन । सबै टिमलाई समान खेलको अवसर प्राप्त गराउने उद्देश्यले सबैको समझदारीमा फाइनल नराखिएको क्यानका सचिव पारस खड्काले जनाए ।















