टाइगर कप भलिबलमा आजदेखि लिग चरण सुरु, आज चार टिमबीच प्रतिस्पर्धा

केन्द्रभाग मिडिया

पोखरा ।

पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत आजदेखि लिग चरणका खेलहरु हुँदैछन् । आज महिलातर्फ दुई र पुरुषतर्फ दुई खेल हुने प्रतियोगिताका संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा आज बिहान पौने ९ बजे पहिलो खेल हुनेछ । उक्त खेल महिलातर्फ ‘जित्ने समूह’का टिपटप न्यू डायमण्ड स्पोर्ट्स क्लब र शसस्त्र प्रहरी बल एपिएफबिच प्रतिष्पर्धा हुनेछ ।

दोस्रो खेल महिलातर्फ ‘हार्ने समूह’का ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्ड र नेपाल पुलिस क्लबले खेल्नेछन् । उक्त खेलमा पौने ११ बजेबाट सुरु हुनेछ । तेस्रो खेल पुरुषतर्फ ‘जित्ने समूह’का भारतको सुनिल भलिबल क्लब र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्नेछन् । सोमबारको अन्तिम तथा चौथो खेल पुरुषतर्फ ‘हार्ने समूह’का गण्डकी प्रदेश र टिपटप हेल्प नेपाल स्पोर्टस् क्लबबिच हुनेछ ।

लिगपछि ‘जित्ने समूह’ बाट शीर्ष दुई टोली फाइलन प्रवेशका लागि पहिलो क्वालिफायर खेल्नेछन् । तेस्रो स्थानमा रहने र ‘हार्ने समूह’ बाट शीर्ष स्थानमा रहने टोलीले एलिमिनेटरमा भिड्नेछन् ।

पहिलो क्वालिफायरमा पराजित हुने टोली र एलिमिनेटरमा विजेता हुने टोलीले दोस्रो क्वालिफायर खेल्नेछ । ‘हार्ने समूह’ बाट दोस्रो र तेस्रो स्थानमा रहने टोली प्रतियोगिताबाट बाहिरिनेछन् । टाइगर ग्रुप अफ पोखराको आयोजनामा भएको उक्त प्रतियोगिता १९ माघसम्म चल्नेछ ।

  • १४ माघ २०८१, सोमबार ०७:०८ प्रकाशित