टाइगरकप भलिबल प्रतियोगितामा आज महिलातर्फ एक र पुरुषतर्फ तीन खेल हुने

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरामा शनिबार देखि सुरु पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको दोस्रो दिन आज (आइतबार) महिलातर्फ एक र पुरुषतर्फ ३ खेल हुनेभएका छन् ।

टाइगर ग्रुप अफ पोखराद्वारा आयोजित प्रतियोगितामा आज महिलातर्फ आयोजक र त्रिभुवन आर्मी क्लबबिच पहिलो खेल बिहान ९ बजेबाट सुरु हुने प्रतियोगिताका संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए । उनका अनुसार त्यसपछि पुरुषतर्फका खेल हुनेछन् । पुरुषतर्फ पहिलो खेल डिफेन्डिङ च्याम्पियन हेल्प नेपाल स्पोर्टस् क्लब र भारतको सुनील भलिबल क्लब, कुरुक्षेत्रको टिमबिच हुने संयोजक ज्ञवालीले जानकारी दिए ।

दोस्रो खेल गण्डकी प्रदेश र नेपाल पुलिस क्लबबिच हुनेछ । तेस्रो खेल सशस्त्र प्रहरी बल (एपिएफ) र त्रिभुवन आर्मी क्लबबिच हुने आयोजकले जनाएको छ । रेफ्री टहलसिंह थापाका अनुसार आर्मी र आयोजक टोलीबिचको खेलको तेस्रो सेटको खेल सकिँदा हिजो (शनिबार) भिजिबिलिटी कम हुँदा स्थगित भएको खेलपनि आज नै हुनेछ । ।

आजका खेलपछि लिग हुनेछ । जित्ने टोली र हार्ने टोलीको छुट्टाछुट्टै लिग सञ्चालन हुनेछ । जित्ने टोलीको समूहबाट शीर्ष २ टोली पहिलो क्वालिफायर खेल्नेछ । तेस्रो स्थानमा रहने टोलीले एलिमिनेटर खेल्नेछ ।

हार्ने टोलीको समूहबाट शीर्ष स्थानमा रहने टोलीले एलिमिनेटर खेल्नेछ । दोस्रो र तेस्रो स्थानमा रहने टोली प्रतियोगिताबाट बाहिरिने छन् । एलिमिनेटरको विजेताले फाइलन प्रवेशका लागि पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग प्रतिष्पर्धा गर्ने छ । खेल हेर्न चाहने दर्शकले इसेवामार्फत पनि अनलाइन टिकट काट्न सकिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा पुरुष तथा महिला दुवैतर्फको विजेताले ५ लाख ८५ हजार ५ सय ५५ रुपैयाँ पाउनेछन् । उपविजेतालाई समान २ लाख ८५ हजार ५ सय ५५ र तृतीय हुने टोलीले १ लाख ८५ हजार ५ सय ५५ रुपैयाँ पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार ७ सय ७७ रुपैयाँ प्राप्त गर्ने छन् । विधागततर्फ उत्कृष्ट हुनेलाई समान १० हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

  • १३ माघ २०८१, आईतवार ०७:१६ प्रकाशित