पोखरा ।
एनसीइएलएल पाचौँ टाइगर कप राष्ट्रिय तथा अन्र्तराष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८१ को तयारी तीव्र रुपमा भइरहेको बताइएको छ ।
यही माघ १२ देखि १९ गते सम्म पोखरा रंगशालामा हुने उक्त प्रतियोगिताको तयारी तीव्र बनाइएको आयोजक टाईगर ग्रुप अफ पोखरा नेपालले आज पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
प्रतियोगितालाई सफल बनाउनको लागि अध्यक्ष नारायण प्रसाद शर्माको अध्यक्षतामा १०१ सदस्यीय मुल आयोजक समिति र ११ उपसमिति गठन गरेको पत्रकार सम्मेलनमा बताइयो ।
प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ ६ गरी जम्मा १२ टिमको सहभागिता रहने संयोजक रामकृष्णा ज्ञवालीले बताए ।संयोजक ज्ञवालीको अनुसार टाइगर कपका विदेशी टिमहरुले पनि भाग लिदैंछन् ।
पुरुषतर्फ भारतको सुनिल भलिबल क्लब कुरुक्षेत्र र महिलातर्फ ट्राभल इन्क्वाइरि युनाईटेड प्यासन भलिबल क्लब सिसाकेट, थाईल्याण्डले प्रतिस्पर्धा गर्ने ज्ञवालीले जानकारी दिए । यस्तै गण्डकी प्रदेशको पुरुष र आयोजक महिला टिममा ३–३ जना विदेशी खेलाडी सहभागी हुदैंछन् ।
यसवर्ष प्रतियोगिताका विजेतालाई दिने पुरस्कार राशीमा वृद्धि गरिएको टाईगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्माले बताए ।अध्यक्ष शर्माको अनुसार प्रतियोगिताका विजेता दुवै समुह महिला / पुरुष तर्फका टिमले समान ५ लाख ८५ हजार ५५५, द्धितीय हुनेलाई दुई लाख ८५ हजार ५५५ र तृतीय हुनेलाई एक लाख ८५ हजार ५५५ रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
यस्तै सर्वोकृष्ट खेलाडीलाई २५ हजार ७७७ रुपैया सहित शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिने छ । यस्तै पुरुष महिला दुवै टिम तर्फ उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट लिब्रो, उत्कृष्ट स्पाइकर, उत्कृष्ट कोचलाई समान १० हजार ५५५ रुपैयाँ प्रदान गरिने अध्यक्ष शर्माले बताए ।
साथै विद्यागततर्फ विजेता खेलाडीलाई आकर्षक जुत्ता उपहार दिने आयोजकले बतायो ।यस्तै प्रत्येक म्याचमा टाइगर अफ दि म्याच हुने खेलाडीलाई केल्मी नेपालको तफएबाट एक था सोभिनियर भलिबल दिइने आयोजकको भनाई छ ।
प्रतियोगिता हेर्नको लागि यस वर्ष ईसेवामार्फत अग्रीम अनलाईन टिकेटिङको व्यवस्था रहेको र प्रत्येक दिन टिक काटी प्रवेश गर्ने दर्शक मध्येबाट टिकटको अर्धकट्टीबाट भाग्यमानी दर्शकलाई एक्सटीईपी फेसन(xtep fashion) नेपालको तर्फबाट एक थान टिसर्ट दिइने छ ।
दर्शककलाई सहज ढंगले खेल हेर्न अवसर दिनका लागि यस वर्ष प्याराफिटको क्षमता बढाइएको , जेष्ठ नागरिक तथा फरक क्षमताका व्यक्तिहरुका लागि छुट्टै प्याराफिटको व्यवस्था तथा निशुल्क प्रवेशको व्यवस्था गरेको आयोजकले जानकारी दियो ।
साथै प्रतियोगिता अवधिभर ख्याती प्राप्त राष्ट्रिय कलाकारहरुले प्रस्तुती दिनेछन् ।प्रतियोगिता आयोजना सम्पन्न गर्न १ करोड २५ लाख रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान रहेको छ ।














