माछापुच्छ्रेमा जेष्ठ नागरिक सेवा केन्द्र भवन निर्माण, तीन महिनामा सञ्चालनमा ल्याइने

केन्द्रभाग मिडिया

पोखरा ।

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा पाँच करोडको लागतमा नाना मोहन जेष्ठ नागरिक सेवा केन्द्र भवन निर्माण भएको छ । आमा स्मृति फाउण्डेसनको पहलमा माछापुच्छ्रे ३ घाचोकमा ईहमान फाउण्डेसन जर्मनी, आमा स्मृति प्रतिष्ठान माछापुच्छ्रे गाउँपालिका र नाना मोहन आश्रमको सहयोगमा सेवा केन्द्र भवन निर्माण भएको हो ।

नवनिर्मित भवनको एक समारोहका बीच शनिबार बिहान नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गरेका हुन् । भवनको उद्घाटन गर्दै उनले सेवा केन्द्र सञ्चालनका लागि सरकारले पनि केहि न केहि सहयोग गर्ने आश्वासन दिए ।

मन्त्री गुरुङले आमा स्मृति फाउण्डेसनको पहलमा दाता खोजेर जेष्ठ नागरिकका स्वास्थ्यचौकी र आवासीय सुविधासहितको भवन बनाउने कार्यले राज्यलाई नै सहयोग पुगेको भन्दै उनले थप आवश्यक पर्ने सामग्रीका लागि अर्थमन्त्रालयमा प्रस्ताव लगेर सहयोग गर्ने बचन दिएका हुन् । भवन बनेको भएपनि उक्त भवनमा आवश्यक सबै पूर्वाधार निर्माणका लागि अझै थप दुई करोड रुपैयाँ लाग्ने बताइएको छ ।

सो आवासीय सेवा केन्द्र भवन निर्माण सम्पन्न भएपनि अबको तीन महिनामा सञ्चालनमा आउने आमा स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष वसन्तराज दवाडीले जानकारी दिए । निर्माण भएर शनिबार उद्घाटनलगत्तै ईहमान फाउण्डेसन जर्मनीले स्थानीय आमा स्मृति प्रतिष्ठानलाई भवन हस्तान्तरण गरेको छ।

सेवा केन्द्रमा स्वास्थ्यचौकी राखेर स्वास्थ्य सेवासमेत दिईने भएको छ । एक जना एमविविएस डाक्टर र अन्य नर्ससहितको सेवा दिईने प्रतिष्ठानका अध्यक्ष गुणाखर दवाडीले जानकारी दिए ।

सेवा केन्द्रमा सिंगल, डबल र ट्रिपल बेडहरु रहनेछन् । भान्छा, बगैंचा र सामान्य पार्कसहितको सेवाकेन्द्रमा सुरक्षाकोसमेत प्रबन्ध मिलाइएको अध्यक्ष दवाडीले जानकारी दिए । वृद्धाश्रम भित्रै अडियो, भिडियो कक्षसहितको पुस्तकालय राखिनेछ भने वृद्धवृद्धाहरुका लागि मल्टिमिडिया कक्ष, योगा, मेडिटेसनलगायतका सुविधापनि रहने उनको भनाई छ ।

सेवा केन्द्रमा ६५ वर्ष माथिका असहाय, गरीब तथा विपन्न परिवारका बृद्ध,बृद्धाहरुलाई निःशुल्क राखिने जनाइएको छ । केहिलाई सशुल्कसमेत राखिने अध्यक्ष दवाडीले बताए । ‘सेवा केन्द्रलाई आत्मनिर्भर बनाउनका लागि यस्तो गर्न लागिएको हो’–उनले भने । उनका अनुसार धनसम्पती तथा छोराछोरी भएकाले वृद्धाश्रममा बस्नका लागि मासिक शुल्क तिर्नुपर्नेछ । महिला र पुरुषका लागि छुट्टाछुट्टै ब्लक निर्माण गरिएको सेवा केन्द्रमा पहिलो चरणमा महिला र पुरुष २०/२० जना गरेर कुल ४० जना राखिनेछ । पछि बिस्तारै सेवा केन्द्रको क्षमता बिस्तार गरेर ५०/५० जना महिला/पुरुष राखिने संस्थापक अध्यक्ष दवाडीले बताए ।

सेवा केन्द्र भवनको उद्घाटनको अवसरमा सेवा केन्द्र निर्माणका लागि सहयोग गर्ने जर्मनीको ईहमान स्टिफटुङ साभोग्निन स्वीजरल्याण्डलाई सम्मान गरिएको थियो । कार्यक्रममा आमा स्मृति प्रतिष्ठानले ईहमान स्टिफटुङ साभोग्निन स्वीजरल्याण्डका प्रतिनिधिहरु माथियाज मारिया डोल्ड, अन्नेट कोबर, एन्जेलिका मार्टिना ईर्सित लुथर र गेरहार्ड जोसेफ होचग्रिबरलाई दोषल्ला ओढाएर सम्मान गरेको हो ।

त्यस्तै सेवा केन्द्र भवन निर्माणका लागि जग्गा दान गर्ने स्वर्गिय नाना गुरुङ र मोहन गुरुङको स्मृतिमा उनका छोरा तथा माछापुच्छ्रे गाउँपालिकाका संस्थापक अध्यक्ष कर्णबहादुर गुरुङसहित उनका दाजुभाईहरु दुर्गाबहादुर गुरुङ, बरबहादुर गुरुङ र छोरी शुकमाया गुरुङ तथा उनीहरुका परिवारका सदस्यहरुलाईपनि सम्मान गरिएको थियो ।

सो अवसरमा ईहमान स्टिफटुङ साभोग्निन स्वीजरल्याण्डका प्रतिनिधि माथियाज मारिया डोल्डले ज्येष्ठ नागरिकका लागि भवन निर्माणमा सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे । साथै आगामी दिनमापनि सहयोग जारी राख्ने उनले प्रतिबद्धता जनाए ।

  • १३ पुष २०८१, शनिबार २०:५४ प्रकाशित