लमजुङको सुन्दरबजार नगरपालिकाले बेमौसमी तरकारीबाली परीक्षण उत्पादन सुरू गरेको छ । जिल्लामा नै पहिलो पटक सुन्दरबजार नगरपालिकाले बेमौसमी तरकारीबालीको परीक्षण उत्पादन गर्न लागेको हो ।
नगरपालिकाभित्रका आठ जना किसान छनोट गरी प्रतिकिसान एक रोपनी क्षेत्रफलमा बेमौसमी तरकारी उत्पादन परीक्षण गर्न लागिएको सुन्दरबजार नगरपालिका कृषि विकास शाखाका अधिकृत रघुनाथ अधिकारीले जनाकरी दिए ।
विशेष गरी बागमती प्रदेशको धादिङका धेरै क्षेत्रमा बेमौसमी लहरे तरकारीबाली उत्पादन हुँदै आएको छ । सुन्दरबजारका किसानलाई पटक–पटक त्यही ठाउँमा कृषि अवलोकन भ्रमण लगेपछि यहाँका किसान पनि बेमौसमी लहरे तरकारी बालीप्रति आकर्षित भएर जिल्लामा नै पहिलो पटक उत्पादन परीक्षणमा लागेका शाखाका अधिकृत अधिकारीले बताए ।
अधिकारीका अनुसार पालिजातको करेला, न्यू नारायणी जातको घिरौला, अनमोल जातको लौका र भक्तपुरे काँक्रो सुुरूको चरणमा परीक्षण उत्पादनमा लागिएको बताए । अहिले किसानले गुम्बज बनाएर बिरूवा रोप्ने काम गरिरहेका छन् ।आर्थिक वर्ष २०८१(८२ को कृषि विकास शाखातर्फको कार्यक्रममा समावेश गरिएको बेमौसमी तरकारी बाली उत्पादन परीक्षणलाई नगरपालिकाले किसानलाई कच्चापदार्थ र मल बीउमा सहयोग गरेको छ ।
उत्पादनको लागि आवश्यकपर्ने कच्चापदार्थ बाँस, गुम्बज बनाउने प्लास्टिक, बीउ, आवश्यक मल, सिँचाइको लागि आवश्यकपर्ने हजारी, कीटनाशक विषादी, विषादी छर्न आवश्यक पर्ने स्प्रे, बिरूवा उत्पादनको लागि आवश्यक पोलिपट र प्राविधिक सहयोग पालिकाले गरेको शाखाका नायब प्राविधिक सहायक तिलकुमारी श्रेष्ठले बताए ।रासस