एक वर्षभित्र देशभित्रै राहदानी छाप्ने सञ्चारमन्त्री गुरुङको उद्घोष

केन्द्रभाग मिडिया

पोखरा ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले अबको एक वर्षभित्र देशभित्रै पासपोर्ट (राहदानी) छापिसक्ने उद्घोष गरेका छन् । माछापुच्छ्रे गाउँपालिका ६ भिडाबारीमा रहेको बराह माध्यमिक विद्यालयको ५७ औं वार्षिकोत्सब, अभिभावक दिवस एवं प्राविधिक शिक्षालयको रजत महोत्सव वर्ष शुभारम्भ समारोहलाई शनिबार सम्बोधन गर्दै उनले यस्तो उद्घोष गरेका हुन् ।

उनले सरकारी कागजात र परिचयपत्रहरु चाँडै देशभित्रै छापिने बताए । मन्त्री गुरुङले राहदानी, सवारी चालक अनुमतिपत्र, बैंक नोट, अन्तर्शुल्क स्टिकर, लालपुर्जा लगायतका सामग्री देशभित्रै छाप्ने तयारीमा सरकार लागेको उल्लेख गरे । ‘अबको एक वर्षभित्रै पासपोर्ट नेपालमै छाप्छौं’ उनले भने, ‘बैंक नोट पनि देशमै छापिने अवस्था निर्माण गर्छौँ ।’

मन्त्री गुरुङले वर्तमान सरकारले अरू केही गर्न नसकेपनि देशको अवस्था थप विग्रनबाट रोकेको दावी गरेका छन् । सरकार निर्माण भएको ५ महिना भएपनि ठ्याक्कै यो गर्यौं भनेर देखाउने काम नभएको स्विकार गरेका उनले देशलाई विग्रनबाट भने जोगाएको जिकिर गरेका हुन् ।

देशको अवस्था अस्थव्यस्त भएकाले त्यसलाई रोक्न दुई ठूला दल मिल्नुपरेको उनको भनाई थियो । विश्वमा सबैभन्दा ठूलो दलले सरकारको नेतृत्व गर्ने र दोस्रो ठूलो दल प्रमुख प्रतिपक्षी भएर खबरदारी गर्ने समान्य प्रचलन भएपनि नेपालमा राजनीतिक अस्थिरता चिर्दै र सबै खराब कूरालाई रोक्न दुई ठूला दल मिल्नु परेको उनको तर्क थियो । ‘देश भित्रभित्रै मक्किएको, अर्थतन्त्र कमजोर बनेको अवस्था थियो । अराजकतावादी, उग्र वामपन्थी र विदेशी हस्तक्षेपबाट देशलाई असफल हुनबाट बचाउन एमाले र कांग्रेस मिलेका हुन्,” उनले भने । देशमा प्रमुख राजनीतिक दलहरुले ठूला ठूला आन्दोलन, क्रान्तिहरुको सफल नेतृत्व गरेको स्मरण गर्दै उनले आर्थिक, सामाजिक रुपान्तरण गर्दै समाजवादतर्फको यात्रा अब जरुरी भएको औंंल्याए ।

नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले ३० प्रतिशत हाराहारीको विकास बजेटको पनि आधामात्र खर्च हुने परिपाटी रहेको जनाउँदै यसलाई नबदली जनअपेक्षा पूरा नहुने प्रष्ट पारे । ‘ऐन, कानुन, नीतिहरु बदल्दैअघि बढ्नुपर्छ । राजा महेन्द्रको पालाका ऐन, कानुनबाट गणतन्त्रको विकास र समृद्धि सम्भव छैन,’ मन्त्री गुरुङले भने ।

मन्त्री गुरुङले सञ्चार मन्त्रालय देशभर गुणस्तरी इन्टरनेट, नेपाल टेलिभिजन र रेडियो नेपालको पहुँच पुर्‍याउन लागी परेकोसमेत जनाए ।
२०२४ मा स्थापना भएको बराह माविले प्लस टुमा भेटेरिनरी अध्यापन गराउने गरेको छ । विद्यालयका अध्यक्ष आशमान रोकाले ग्रामीण क्षेत्रका विद्यालयलाई टिकाउन सरकार र अभिभावकको बलियो साथ चाहिनेमा जोड दिए ।

  • ६ पुष २०८१, शनिबार २१:३६ प्रकाशित