काठमाडौं ।
नेपाल प्रिमियर लिग (एनपिएल) को आज फाइनल भिडन्त हुँदैछ । पहिलो क्वालिफायरमा जनकपुर बोल्ट्सलाई नै हराएर फाइनल पुगेको सुदूरपश्चिम रोयल्स र दोस्रो क्वालिफायर खेल्दै फाइनल पुगेको जनकपुर बोल्ट्स उपाधिका लागि त्रिवि मैदान कीर्तिपुरमा सवा १२ बजे भिड्नेछन् ।
एनपिएलमा सुदूरपश्चिम र जनकपुरबीच आज हुने लागेको भेट तेस्रो हो। लिग चरण र पहिलो क्वालिफायरमा यी दुई टिम आमनेसामने भइसकेका छन्। दुवै पटकको भेटमा जनकपुर पराजित भएको थियो।
प्रतियोगितामा कुल ८ खेल खेलेको सुदूरपश्चिम एक खेलमा मात्रै पराजित भएको छ । लिग चरणमा सुदूरपश्चिमलाई चितवन राइनोजले हराएको थियो । ९ खेल खेलेको जनकपुर भने तीन खेलमा पराजित भएको छ । दुई खेल सुदूरपश्चिम र एक खेल चितवन राइनोजसँगै जनकपुर पराजित भएको छ।
जनपुरका नियमित कप्तान चोटका कारण मैदानबाहिर छन्। उनको अनुपस्थितिमा टिमको कप्तानी मार्की खेलाडी आशिफ शेखले गर्नेछन् । जनकपुर र सुदूरपश्चिमबीच यसअघि भएका दुवै खेलमा त्रिवि मैदान खचाखच दर्शकले भरिएका थिए । फाइनल खेलको टिकट पनि खुलेको केही घन्टामै सोल्ड आउट भएको थियो ।
फाइनलअघि दुवै टोलीका कप्तानले आफ्नो शतप्रतिशत दिएर उत्कृष्ट खेल्ने बताएका छन् । दुवै टोलीका कप्तानले एकअर्काका टोलीलाई बलियो भएको बताएका छन् । यस्तै फाइनललाई एक साधारण खेलको रूपमा लिने उनीहरूको भनाइ छ ।