चितवन राइनोजलाई हराउँदै कर्णाली याक्स क्वालिफायर टु मा

केन्द्रभाग मिडिया

 

काठमाडौं ।

कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपीएल)को क्वालिफायर २ मा प्रवेश गरेको छ । बुधबार भएको खेलमा चितवन राइनोजलाई पराजित गर्दै कर्णाली याक्स क्वालिफायर २ मा प्रवेश गरेको हो ।

कर्णालीले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ५४ रन मात्र बनाउन सक्यो ।यता कर्णालीसँगको हारले चितवन भने प्लेअफबाटै बाहिरिएको छ । एलिमिनेटर खेलमा चितवनलाई २१ रनले हराउँदै कर्णाली दोस्रो क्वालिफयरमा पुग्न सफल भएको हो ।

कर्णालीले अब फाइनलमा स्थान बनाउनका लागि पहिलो क्वालिफायरमा पराजित हुने टोलीविरुद्ध खेल्नेछ । पहिलो क्वालिफायरमा आजै दिउँसो १ बजे सुदुरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्नेछन् ।

चितवनका रवि बोपाराले सर्वाधिक ५३ रनको योगदान दिए पनि टोलीको हार टार्न सकेनन्। उनले ३४ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दा नन्दन यादवको बलमा गुल्सन झाको हातबाट क्याच आउट हुन पुगे ।

कप्तान कुशल मल्ल २१ रनमा विपिन शर्माको बलमा बोल्ड आउट भए । विपिन रावलले १८ र लुक वेनकेन्स्टाइनले १६ रन थपे । अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।

कर्णालीका लागि जिसन मक्सुदले तीन विकेट झारे । सोमपाल कामी र नन्दन यादवले समान २ विकेट लिए । विपिन शर्माले एक विकेट लिए ।

पाचौँ विकेटका लागि विलियम बसिस्टो र चान्डविक वाल्टनले ६७ रनको साझेदारी गरे । विलियन ५२ रन बनाउँदै सोहेल तनविरको बलमा बोल्ड आउट भए। उनले ३९ बलमा ३ चौका र २ छक्का प्रहार गरे।

चाडविक ४६ सोमपाल कामी शून्य रनमा नटआउट रहे। चान्डविकले २३ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। ओपनर जयकिसन कोल्सावाला ५३ रन बनाउँदै क्याच आउट भए। १३ औ ओभरको चौथो बलमा जयनकिसन रवि बोपाराको बलमा शरद भेषावकरको हातबाट क्याच आउट भए।

उनले ३९ बलमा ६ चौका र २ छक्का प्रहार गरे । उनले ३६ बलमा ४ चौका र २ छक्का सहयोगमा अर्धशतक पूरा गरेका थिए । जिसन मक्सुद १४ रनमा क्याच आउट भए । १२ बलमा १ चौका र १ छक्का हानेका मक्सुद शरद भेषावकरको बलमा रन्जित कुमारको हातबाट क्याच आउट हुन पुगे ।

देव खनाल ३ रनमा रन आउट भए । रित गौतम र गुल्सन झा शुन्य रनमा नै आउट भए । चितवनका लागि सोहेल तनविरले दुई विकेट लिए । शरद भेषावकर, रवि बोपारा र कुशल मल्लले समान एक विकेट लिए ।

  • ३ पुष २०८१, बुधबार १२:४७ प्रकाशित