प्लेअफमा पुग्ने पहिलो टोली बन्यो जनकपुर, सुपर ओभरमा पोखराको बाजी

केन्द्रभाग मिडिया

काठमाडौं ।

जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ पुग्ने पहिलो टोली बनेको छ ।

बिहीबार काठमान्डु गुर्खाजलाई ५ विकेटले पराजित गर्दै पाँचौ जित हात पारेको जनकपुरले लिगको अन्तिम खेल खेल्नुअघि नै प्लेअफमा स्थान पक्का गरेको हो ।

जनकपुरले ६ खेल खेल्दा ५ जितसहित १० अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा भएको खेलमा काठमान्डुले दिएको १०२ रनको लक्ष्य पछ्याएको जनकपुरले १५।५ ओभरमा ५ विकेट गुमाएर १०४ रन बनाउँदै लक्ष्य पूरा गरेको हो ।

सुपर ओभरमा पोखराको बाजी

नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले विराटनगर किंग्सलाई सुपर ओभरमा पराजित गरेको छ ।

एनपीएलकै पहिलो सुपर ओभरमा पुगेको खेलमा पोखराले पहिले ब्याटिङ गर्दै १८ रन बनाएको थियो । १९ रनको लक्ष्य पाएको विराटनगरले १ विकेट गुमाएर ५ रन मात्र बनाएपछि पोखरा विजयी भएको हो ।

पोखराको जितमा रेमोन रेइफर नायक बने । रेइफरले निर्धारित खेलको अन्तिम बलमा छक्का हान्दै खेल बराबरी गराएका थिए । त्यसपछि सुपर ओभरमा उनैले ब्याटिङ गर्दै २ छक्का र १ चौका हान्दा पोखराले १८ रन बनाएको थियो । सुपर ओभरमा पनि रेइफरले नै बलिङ गर्दै जम्मा ५ रन मात्र बनाए ।

लिगमा पाँचौं खेलमा दोस्रो जित हात पारेको पोखराले ४ अंक जोडेको छ र प्लेअफ सम्भावना कायम राखेको छ । पाँच खेलमा चौथो हार व्यहोरेको विराटनगरको २ अंक मात्र छ र प्लेअफ होड कठिन बनेको छ ।

  • २७ मंसिर २०८१, बिहीबार १६:०८ प्रकाशित