एनपीएल : पोखरा एभेन्जर्सको पहिलो जित

केन्द्रभाग मिडिया

काठमाडौं ।

काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले पहिलो जित हासिल गरेको छ ।

आन्द्रेस गौसको सानदार शतकमा पोखराले पहिलो जित हात पारेको हो। गौस र दिनेश खरेलले कीर्तिमानी साझेदारी गरेपछि पोखराले शुक्रबारको दोस्रो खेलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गरेको हो ।

गौसको अविजित १०४ रनमा पोखराले १७१ रनको लक्ष्य १६।५ ओभर खेल्दै १७६ रन बनाएर पूरा गर्‍यो । पोखरामा एनपीएलमा १० विकेटको जित हात पार्ने पहिलो टिम बन्यो । योसहित पोखराले जितमा विभिन्न कीर्तिमान पनि बनाएको छ । जसमा गौसको पहिलो शतक समेत रह्यो ।

१६औं ओभरको अन्तिम बलमा विवेक यादवलाई चौका प्रहार गर्दै उनले शतक पूरा गरे । उनले ५५ बल खेल्दै १२ चौका र ५ छक्का मद्दतमा शतक बनाएका हुन् ।उनले अविजित १०४ रन जोडे ।

यसैगरी विजयी छक्का प्रहार गरेका दिनेशले ४६ बल खेल्दै अविजित ६१ रन जोडे । उनले ४ चौका र ४ छक्का प्रहार गरे ।

पोखराका अमेरिकन विकेट किपर ब्याटर गौसले एनपीएलमा सबैभन्दा छिटो अर्धशतक प्रहार गर्ने खेलाडीमा पनि आफ्नो नाम दर्ज गरे । उनले २० बलमै ५ चौका र ३ छक्का मद्दतमा अर्धशतक पूरा गरेका हुन् । यसअघि सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले विराटनगर किंग्स विरुद्ध २३ बलमा अर्धशतक हानेका थिए ।

एनपीएलमा यो पहिलो विकेटका लागि पहिलो शतकीय साझेदारी हो भने समग्रमा तेस्रो शतकीय साझेदारी हो ।

यसैगरी गौस र दिनशले पहिलो विकेटका लागि गरेको साझेदारी एनपीएलकै उच्च साझेदारी समेत हो । यसअघि उद्घाटन खेलमै जनकपुर बोल्ट्सका लाहिरु मिलान्था र हर्श थाकरले विराटनगर किंग्स विरुद्ध तेस्रो विकेटका लागि अविजित ११६ रनको साझेदारी गरेका थिए ।

गौस र दिनेशले त्यो साझेदारीको कीर्तिमान तोडेका हुन् ।

  • २१ मंसिर २०८१, शुक्रबार १६:५६ प्रकाशित