रास्वपा नेताहरुले गरेका भाषणहरुको क्लिपसहितका विवरण पेस गर्न सर्वोच्चको आदेश

केन्द्रभाग मिडिया

काठमाडौँ ।

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरुले सार्वजनिक रूपमा गरेका भाषणहरूको क्लिपसहितका विवरण पेस गर्न आदेश गरेको छ ।

रास्वपा नेताहरुविरुद्ध दर्ता भएको अदालतको अवहेलना निवेदनलाई गम्भीर रूपमा लिँदै सर्वोच्चले सो आदेश गरेको हो । न्यायाधीशद्धय मनोजकुमार शर्मा र नृपध्वज निरौलाको संयुक्त इजलासले बुधबार आदेश गर्दै निवेदकलाई सम्पूर्ण कागजातहरू पेस गर्न भनेको हो ।

अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको अदालतको अवहेलना मुद्दामा संयुक्त इजलासले सुनुवाइ गर्दै यस्तो आदेश गरेको हो ।

‘निवेदकको तर्फबाट उपस्थित विद्वान् अधिवक्ताद्वय अनुपम भट्टराई तथा उपेन्द्र रावतले गर्नुभएको बहस सुनियो,’ अदालतको आदेशमा भनिएको छ, ‘ निवेदकले निवेदनसाथ पेस गरेको कागजातको पूर्णपाठ तथा भिडियो क्लिप तथा सो भिडियोलाई लिपिबद्ध गरी निवेदकबाट यथाशीघ्र पेस गर्न लगाई नियमानुसार पेस गर्नुहोला ।’

सर्वोच्चले भिडियोमा भनिएका कुरा उतार गरेर समेत पेस गर्न भनेकाले अदालतले यसलाई गम्भीर रूपमा लिएको देखिन्छ ।

  • १२ मंसिर २०८१, बुधबार १६:११ प्रकाशित