स्याङ्जाका तीन क्रिकेटरलाई खुमा अर्याल फाउण्डेशनको सम्मान

केन्द्रभाग मिडिया

पोखरा ।
शिक्षा, स्वास्थ्य, रोजगार तथा खेलकुदका क्षेत्रमा सक्रिय खुमा अर्याल फाउण्डेशनले स्याङ्जाका तीन महिला क्रिकेटरलाई जनही एक / एक लाख रुपैयाँका दरले पुरस्कार प्रदान गरेको छ । संस्थाले छैटौँ स्थापना दिवसको सन्दर्भ पारेर बुधबार एक कार्यक्रमसहित उनीहरुलाई सम्मान गरेको हो । उन्नाइस वर्षमुनिका उमेर समूहबाट नेपालको प्रतिनिधित्व गर्दै युएईमा सम्पन्न टि–२० महिला क्रिकेट प्रतियोगितामा सहभागी स्याङ्जाका तीन खेलाडीलाई पुरस्कार तथा सम्मान गरिएको हो ।

कार्यक्रममा स्याङ्जाको पुतलीबजार पुतलीबजार–१३ की सिमाना केसी, कुसुम गोदार, पुतली बजार नगरपालिका–१ की ज्योत्सिना मरासिनी र स्याङ्जा क्रिकेट संघका अध्यक्ष दिवाकर थापालाई पुरस्कार तथा सम्मान गरियो । युएईमा भएको यु–१९ टि–२० महिला विश्वकपको एसिया छनोटको उपाधि विजेता एवं सन् २०२५ मा मलेसियामा हुने विश्वकप खेलमा पुग्न सफल नेपाली टिममा स्याङ्जाका तीन जना महिला खेलाडी पर्न सफल भएका थिए ।

देशका लागि खेल्न पाउँदा आफूलाई गर्व लागेको र आगामी दिनमा खेल्नका लागि थप ऊर्जा मिलेको खेलाडी ज्योत्सिना मरासिनीले बताइन् । अबको समय मलेसियामा हुने एसिया कपको तयारीमा जुट्नुपर्ने उनले बताइन् ।

महिला खेलाडीलाई स्याङ्जाको पुतलीबजार नगरपालिकाले जनही ३३ हजार तीन सय ३३ रुपैयाँ पुरस्कार तथा सम्मानस्वरुप प्रदान गर्ने निर्णय गरेको नगर प्रमुख तुलसीराम रेग्मीले जानकारी दिए। नगर कार्यपालिकाले तीन जनालाई एकलाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेकाले आगामी नगर सभाबाट खेलाडीलाई प्रदान गरिने उनले बताए ।

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले जनही १५ हजार रुपैयाँ नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले जानकारी दिए । गाउँपालिकाले आज (बिहीबार) एक कार्यक्रमको आयोजना गरी पुरस्कार एवं प्रदान गर्ने तयारी गरेको उनले बताए । यसअघि स्याङ्जा जिल्ला खेलकुद विकास समितिले खेलाडीलाई सम्मान गरेको थियो ।

  • ६ मंसिर २०८१, बिहीबार ०७:३३ प्रकाशित