पोखरा ।
गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको पार्थिव शरीरमा आज (शनिबार) बिहान राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरिएको छ । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र प्रदेशसभाका उपसभामुख बिनाकुमारी थापाले पोखराको नदीपुरस्थित प्रदेशसभा प्रांगणमा गौचनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
आज बिहान ७ः३० बजेदेखि श्रद्धाञ्जलीका लागि गौचनको पार्थिव शरीर प्रदेशसभाको प्राङ्गणमा राखिएको हो । त्यसैगरी नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले पार्टीको झण्डा ओढाए । थकाली सेवा समितिले आफ्नो परम्पराअनुसार श्रद्धाञ्जली व्यक्त गर्यो ।
गौचनप्रति श्रद्धाञ्जलीका लागि गण्डकी प्रदेशका मन्त्री, प्रदेशसभा सदस्य, राजनीतिक दलका नेता, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, थकाली समुदायका अगुवा, आफन्तजन र शुभेच्छुक उपस्थित भए ।
मुस्ताङको कोबाङमा १८ असार २०१८ मा जन्मिएकी गौचनको परिवार हाल म्याग्दीमा बसोबास गर्छ । गौचनको यही २८ कात्तिकको राति काठमाडौँमा उपचारका क्रममा निधन भएको हो ।
उनी नेपाली कांग्रेसका तर्फबाट विसं २०७९ को प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ निर्वाचित भएकी थिइन् । गौचन राजनीतिसँगै विभिन्न सामाजिक तथा व्यावसायिक क्षेत्रमा समेत सक्रिय थिइन् । गौचनको म्याग्दीमा लगेर दाहसंस्कार गरिने परिवारजनले जनाएको छ। गौचनका एक छोरा र एक छोरी छन् ।