काठमाडौं ।
नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले आज मैत्रीपूर्ण खेलमा ताजिकिस्तानसँग खेल्दैछ ।
नेपाल र घरेलु टोलीवीरुद्धको खेल डुसानबेस्थित सेन्ट्रल स्टेडियममा नेपाली समय अनुसार साँझ ६: ४५ बजे सुरु हुनेछ । फिफाको नोभेम्बर विन्डो अन्तर्गत दुई अन्तर्रारष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न नेपाली टोली मंगलबार डुसानबे पुगिसकेको छ ।
फिफा वरीयतामा नेपालभन्दा ७१ स्थान माथि रहेको ताजकिस्तानविरुद्ध उसैको मैदानमा काउन्टर अट्याक शैलीमा खेल्ने नेपालका अन्तरिम मुख्य प्रशिक्षक नविन न्यौपानेले बताएका छन् ।
‘ताजिकस्तान बलियो टोली हो । कडा मिहिनेत गर्दै संगठित रूपमा काउन्टर अट्याकमा खेल्नेछौं । खेलमा एक(दुई अवसर पाउँछ र त्यसलाई उपयोग गर्दै सकारात्मक रिजल्ट दिनेछौं’, मंगलबार डुासन्बेमा आयोजित पत्रकार सम्मेलनमा उनले भने । खेलमा थोरै मात्र अवसर पाउने र त्यसलाई सदुपयोग गर्दै राम्रो नतिजाको आशा राखेको उनले बताएका छन् ।