सर्वोच्चद्धारा रास्वपा नेताहरूविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गर्न आदेश

केन्द्रभाग मिडिया

काठमाडौँ ।

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सहकारीको रकम अपचलनमा अनुसन्धान चलिरहँदा अदालतको गतिविधि विरुद्ध आन्दोलन गरेको दाबीसहित सर्वोच्च पुगेको अदालतको अवहेलना निवेदन दर्ता गर्न आदेश गरेको छ ।

न्यायाधीश विनोद शर्माको इजलासले मंगलबार यसअघि सर्वोच्च प्रशासनबाट दरपिठ गरेको निवेदन दर्ता गर्न आदेश गरेको हो । अधिवक्ता अनुपम भट्टराईले अनुसन्धानमा रहेको चरणमै अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने,आन्दोलन गर्ने र जनमासलाई उचाल्दै न्याय प्रक्रियामा अवरोध गर्न खोजेको दाबी गर्दै सर्वोच्चमा अदालतको अवहेलना निवेदन पेस गरेका थिए ।

उक्त निवेदन सुरुमा सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार गर्दै दरपिठ गरेको थियो । कात्तिक १४ गते सर्वोच्च प्रशासनले उक्त निवेदन दरपिठ गरेको थियो । सह रजिस्ट्रार अच्युत कुइँकेलले दरपिठ गरेपछि त्यस विरुद्ध भट्टराईले कात्तिक २१ गते इजलासमा निवेदन दिएका थिए । उक्त निवेदनमा पहिलो सुनुवाइ गर्दै न्यायाधीश शर्माको इजलासले दरपिठ बदर गरेको हो ।

सर्वोच्चको एकल इजलासले दरपिठ बदर गर्ने आदेश गरेकाले आजै अवहेलनाको निवेदन पेस गर्ने अधिवक्ता भट्टराईले बताए ।

  • २७ कार्तिक २०८१, मंगलवार १५:४३ प्रकाशित