गौतम बुद्ध विमानस्थलमा आजदेखि ४ विमान कम्पनीले उडान भर्ने

केन्द्रभाग मिडिया

रुपन्देही ।
गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलमा उडान रोकेको जजिरा एयरवेजले शनिवार देखी विमान अवतरण गर्न शुरु गरेको छ ।०७९ जेठ २ मा जजिराले विमानस्थलमा पहिलो उडान भरेपनि विभिन्न कारण देखाउँदै उडान रोकेको थियो । शनिबार विमानले पूरै सिट क्षमतामा यात्रु ल्याएको र फर्किंदा पनि सिट पूरा भएको महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए ।

जजिराले अब मंगलबार, बिहीबार र शनिबार नियमित उडान गर्ने तय भएको छ । आज नै जजिरासहित तीन विमान कम्पनीले गौतम बुद्ध विमानस्थलबाट उडान भर्नेछन् ।निर्माण सम्पन्न भएको लामो समयपछि यो विमानस्थलमा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), जजिरा एयर र फ्लाई दुबईले अन्तर्राष्ट्रिय उडान भर्न लागेका हुन् ।

नेपाल एयरलाइन्स र जजिरा एयरले पुनः उडान गर्न लागेका हुन् भने फ्लाई दुबईले पहिलोपटक गौतमबुद्ध विमानस्थलमा उडान सञ्चालन गर्न लागेको हो । योसँगै गौतमबुद्ध विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान गर्ने हवाई सेवा कम्पनीको सङ्ख्या चार पुगेको छ ।

साथै थाई एयर एसियाले शुक्रबार दोस्रोपटक भैरहवाबाट बैंकक उडान सञ्चालन गरेको छ । थाई एयर एसियाले यही कात्तिक १८ गतेदेखि व्यावसायिक उडान सुरु गरेको थियो ।  कम्पनीले साताको दुई दिन (सोमबार र बिहीबार)बैङ्कक उडान गर्नेगरी उडान अनुमति लिएको छ । गौतमबुद्ध विमानस्थलमा छिट्टै कतार एयरले पनि उडान सञ्चालन गर्ने तयारी गरेको विमानस्थलले जनाएको छ ।

  • २४ कार्तिक २०८१, शनिबार ०९:५६ प्रकाशित