काठमाडौं ।
नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यका साथ आज (बुधबार) साँझ मैदानमा उत्रँदैछ । भारतलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको घरेलु टोली नेपालसँग बंगलादेशलाई पाखा लगाउँदै उपाधि चुम्ने अवसर छ । बंगलादेश बलियो प्रतिद्वन्द्वी हो । यसपाली उसलाई पराजित गर्दै नेपाल पहिलो पटक उपधि जित्ने धुनमा छ ।
जारी सातौँ संस्करणको साफ च्याम्पियनसिपमा ५ पटकको विजेता भारतलाई बंगलादेशले लिग चरमा र नेपालले सेमिफाइनलमा पराजित गरेका छन् । लिग चरणमा भारतलाई ३-१ ले पराजित गर्दै साविक विजेता बंगलादेश साफ वुमन्स च्याम्पियन्सिपको सेमिफाइनलमा प्रवेश गरेको हो ।
नेपालले भारतलाई सेमिफाइनलमा निर्धारित समयमा १-१ गोलको बराबरी पछि पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले हराउँदै नेपाल फाइलमा प्रवेश गरेको हो । सेमिफाइनलमा भारतसंग पहिलो हाफमा गोलरहित बराबरी खेलेको नेपाल दोस्रो हाफमा १० खेलाडीमा सिमित हुन पुग्दा र एक गोलले पछाडि पर्दासमेत आफूलाई खेलमा फर्काउँदै भारतलाई हराएर उपाधि यात्रामा अगाडि बढेको छ ।
नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले विगतका गल्ती नदोहोर्याइ फाइनल खेल जसरी भए आफ्नो पक्षमा पार्ने लक्ष्य रहेको बताए । उनले भने, ‘यसअघिका संस्करणमा पाँच पटकसम्म फाइनल खेलेर पनि हामी च्याम्पियन बन्न सकेका छैनौँ । तर, यसपटक बंगलादेशलाई पराजित गर्दै उपाधि जित्ने गरी योजना बनाएका छौँ ।’
सावित्री भण्डारी (साम्बा)ले नेपाली टोलीबाट उत्कृष्ट खेल पस्कदै नेपाली खेलप्रेमीको मन जित्न सफल छिन् । उनले यसपटक साफ च्याम्पियनसिपको उपाधि जित्दै आम नेपालीलाई खुसी प्रदान गर्ने लक्ष्यका साथ मैदानमा उत्रने बताइन् । बंगलादेश बलियो टोली भएको उल्लेख गर्दै उनले नेपालले उपाधि जित्नेमा विश्वास व्यक्त गरिन् । घरेलु दर्शकको भरपुर साथ र समर्थन हुने भएकाले पनि आफूहरुलाई फाइदा हुने उनको भनाइ थियो ।
उनले भनिन्, “यसअघि पाँच पटक उपविजेतामा चित्त बुझाएका थियौँ, विगतका हारबाट धेरै कुरा सिकेका छौँ । विगतका गल्तीलाई नदोहोर्याइ उपाधि उचाल्ने सोचका साथ मैदानमा उत्रनेछौँ ।”
साम्बालाई फाइनलमा गोलको कीर्तिमान बनाउने अवसरसमेत छ । उनले सेमिफाइनलमा भारतविरुद्ध बराबरी गोल गर्दै साफ च्याम्पियनसिपमा नेपालबाट सर्वाधिक २१ गोल गर्ने नेपाली राष्ट्रिय टोलीकी पूर्वकप्तान अनु लामाको कीर्तिमान बराबरी गरेकी थिइन् ।
युरोपका प्रतियोगितामा खेल्ने पहिलो नेपाली महिला खेलाडीसमेत रहेकी साम्बा फ्रेन्च क्लब इए अभान्ट गुइग्याम्पमा खेलेर नेपाल आएकी हुन् । उनले यस संस्करणको साफ च्याम्पियनसिपमा समूह चरणको पहिलो खेल गुमाएकी थिइन् भने माल्दिभ्सविरुद्धको खेलमा बेञ्चमा बसेकी थिइन् । उनले समूह चरणको अन्तिम खेल श्रीलङ्काविरुद्ध भने खेलेकी थिइनन् । साम्बाले नेपालका लागि ४८ खेलमा सर्वाधिक ५५ गोल गरिसकेकी छन् ।
त्यसैगरी नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान अन्जिला तुम्बापो सुब्बाले नेपाली टोलीले उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रने बताइन् ।
सन् २०२२ मा नेपालमा नै आयोजना भएको गत संस्करणको फाइनलमा नेपाल बंगलादेशसँग १-३ गोलअन्तरले पराजित भएको थियो । सोही संस्करणमा बंगलादेशले पहिलो पटक साफ च्याम्पियनसिपको उपाधि उचालेको थियो । यसपटक अघिल्लो संस्करणको पराजयको बदला लिने सोचका साथ नेपाली टोली उच्च मनोबलका साथ मैदानमा उत्रनेछ ।