साफ महिला च्याम्पियनसिप

पेनाल्टी सुटआउटमा भारतलाई हराउँदै नेपाल फाइनलमा

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल साफ महिला च्याम्पियनसिपको फाइन्लमा प्रवेश गरेको छ । सेमिफाइनलमा भारतलाई  पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो । नेपालको जितमा सावित्रा भण्डारी, गिता राना, सविता रानामगर, अमिसा कार्कीको प्रहार गोलमा परिणत भएको हो ।

भारतकी मनिषा, के पुरुषोत्तमको प्रहार सफल हुँदा कप्तान आसालता र रञ्जना चानुको पेनाल्टी प्रहारमा चुके । त्यसअघि निर्धारित समयमा १–१ को बराबरी भएपछि खेल  पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।

खेलको पहिलो हाफ निर्धारित ४५ मिनेट तथा अतिरिक्त तीन मिनेटको समयमा पनि नेपाल र भारतले गोल गर्न सकेन । पहिलो हाफमा भारतले नेपालमाथि दबाब बनाइराख्दा नेपाल गोल गर्नबाट चुक्यो । नेपाल र भारत दुवैले केही उत्कृष्ट अवसर प्राप्त गरेपनि गोल गर्न भने सकेनन् ।

दोस्रो हाफमा खेलको ५१ औँ मिनेटमा नेपालकी रेखा पौडेलले रातो कार्ड पाएपछि मैदान छोड्नु परेको थियो । रेखाले रातो कार्ड पाएपछि नेपाली दर्शकहरुले केहीबेर नाराबाजी गरेका थिए । यसअघि दुवै टोलीले पहिलो हाफमा गोलरहित बराबरी खेलेका थिए । १० खेलाडीमा सिमित बनेको र एक गोलले पछि परेको नेपाली महिला फुटबल टोली खेलमा फर्कँदै निर्धारित समयमा खेल १-१ को बराबरीमा ल्याएपछि खेल  पेनाल्टी सुटआउटमा पुगेको हो ।

नेपालले अब उपाधिका लागि बंगालदेशसँग भिड्नेछ। आजै भएको पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई ७–१ गोल अन्तरले हराउँदै फाइनलमा पुगेको हो ।

 

  • ११ कार्तिक २०८१, आईतवार २२:४२ प्रकाशित