एमाले र माओवादीसंग पार्टी एकता हुँदैन : अध्यक्ष नेपाल

केन्द्रभाग मिडिया

पोखरा ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमाले र माओवादी दुबैपार्टीसंग एकताको विषयमा कुनै छलफल नभएको प्रष्ट्याएका छन् । एकीकृत समाजवादीको गण्डकी प्रदेश कमिटीको १० औं पूर्ण बैठकलाई पोखरामा सम्बोधन गर्दै उनले दुबै पार्टीसंग एकताको विषयमा चलाइएका हल्ला निराधार रहको बताए । अध्यक्ष नेपालले पार्टीमा देखिएका असन्तुष्टिलाई निराकरण गरिएको भन्दै पार्टी विभाजन हुने या कोही नेता कुनै पार्टीमा प्रवेश गर्ने कूरापनि हल्ला मात्रै भएको सुनाए ।

एमालेमा सैद्धान्तिक र व्यवहारिकरुपमा नै बिचलन देखिएकाले विद्रोह गरिएको स्मरण गराएका उनले पार्टीमा देखिने सानातिना असन्तुष्टिलाई लिएर कसैले खेल्न सकिन्छ कि भनेर नचिताए हुने बताए । ‘हामी एमाले वा माओवादीसंग एकता गर्ने कूरा बाहिर आइरहेका सुन्छौं । म प्रष्ट पार्न चाहन्छु, हामी न एमाले न माओवादी कसैसंगपनि एकता गर्दै छैनौं र त्यस विषयमा कूराकानी पनि भएको छैन ।’

उनले भने, ‘भएको कूरा एजेण्डा मिल्नेहरुसंग सहकार्यको कूरा हो । मोर्चा निर्माण गरेर अगाडि बढ्ने कूरा हो । हाम्रो नीति र सिद्धान्तसंग मेल खान्छ भने, हामीसंग एकताका लागि कुरा गर्नसक्छन् । कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउने विषयमा भोलि सबै हिसावले मिल्दैगयो भने कम्युनिष्ट आन्दोलनलाई सैद्धान्तिक हिसावले एकतावद्ध बनाएर लैजाने कूरा ठिकै हो । तर अहिले कसैसंग पनि एकताको कूरा भएको छैन । हाम्रै बिचार र सांगठनिक बलले अगाडि बढ्ने हो र मुलुकको अगुवा पार्टी बन्ने हो ।’

अध्यक्ष नेपालले जनजिविकाको सवाललाई आफुहरुले उठाएको र त्यसैका लागि विपक्षीहरुको तर्फबाट प्रधानमन्त्री ओलीलाई भेटेर ध्यानाकर्षण गराएको समेत उनले बताए ।  ‘महंगी बढेको छ । भ्रष्टाचार बढेको छ । बाढीपहिरो लगायतका प्रकोपले नागरिक घरबारविहिन भएका छन् । यस्तो बेला रेलका र पानीजहाजका कूरा नभई जनतालाई राहत चाहिएको छ । पहिला अहिलेको प्राथमिकता हेरौं । अहिले टावर किन बनाउनु पर्यो ।  अनावश्यक ठूला संरचना नभई जनताको आवश्यकताका न्युनतम पूर्वाधार बनाउनुपर्यो भनेका छौं । यसैका लागि प्रधानमन्त्रीजीलाई भेटेर ध्यानाकर्षण गराएका छौं’ उनले भने ।

 

  • ११ कार्तिक २०८१, आईतवार १७:०६ प्रकाशित