छानबिनको दायरामा भएका सबैमाथि अनुसन्धान हुन्छ : सञ्चारमन्त्री गुरुङ

केन्द्रभाग मिडिया

लमजुङ ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी ठगीसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समितिको प्रतिवेदनले दोषी देखाएका सबैमाथि सरकारले अनुसन्धान अघि बढाउने बताएका छन । गृह जिल्ला लमजुङमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा गुरुङले उक्त कुरा बताएका हुन ।

रास्वपाका सभापति रवि लामिछाने पक्राउ परेपछि अनुसन्धान प्रभावित पार्न र न्यायालयमाथि दबाब दिन सडकमा वितण्डा मच्चाइरहेको बेला सरकारका प्रवक्ता गुरुङले अनुसन्धान नरोकिने प्रस्ट पारे । सञ्चारमन्त्री गुरुङले जतिसुकै ठुलो दबाब आए पनि सहकारी ठगीमा अनुसन्धान नरोकिने बताए ।

‘सूर्य थापा नेतृत्वको सर्वपक्षीय संसदीय छानबिन समितिको प्रतिवेदनलाई सरकारले कार्यान्वयन अघि बढाएको छ । यही क्रममा ६ सय जना जति अनुसन्धानको दायरामा आइ पक्राउ परेका छन् । रवि लामिछाने पनि उही क्रममा पक्राउ परेका हुन’ उनले थपे, “कोही भ्रममा पर्नु वा भ्रममा पार्न जरुरी छैन, प्रक्रियाअनुसार सबै काम अघि बढिरहेको छ ।’

उनले सरकार सुशासनमा दृढताका साथ अघि बढेको भन्दै रोक्न कोसिस गर्नेहरूको अभियान सफल नहुने र दोषी प्रमाणित भए सजाय भोग्न तयार हुनुपर्ने प्रस्ट पारे । ‘सहकारी ठगीमा सत्तापक्ष र विपक्षी भन्ने हेरिन्न, छानबिनका दायरामा परेका सबैमाथि अनुसन्धान अघि बढ्छ, सडकमा जतिसुकै भीड देखाए पनि केही हुनेवाला छैन’ मन्त्री गुरुङले भने ।

उनले अपराध गर्ने जोकोही पनि अव बच्न नसक्ने तथ्यलाई आत्मसात् गरी अनुसन्धानमा सहयोग गर्नुको विकल्प नरहेको प्रस्ट पारे । मन्त्री गुरुङले सडकमा वितण्डा देखाएर सुशासनको विपक्षमा रास्वपा उभिनु गलत रहेको समेत बताए ।

  • १० कार्तिक २०८१, शनिबार १७:४३ प्रकाशित