करारका कर्मचारी हटाउन मेयर आचार्यलाई वडाध्यक्षहरुको दबाब

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा महानगरपालिकामा कांग्रेसको तर्फबाट निर्वाचित वडाध्यक्षहरुले महानगरपालिका प्रमुख धनराज आचार्यको ध्यानाकर्षण गराएका छन् । महानगरमा लोकसेवा आयोगबाट आएका कर्मचारी राखेर करारमा रहेका कर्मचारी हटाउन माग गर्दै उनीहरुले ध्यानाकर्षण गराएका हुन् ।

बुधबार कांग्रेसबाट निर्वाचित सबै २३ वटा वडाका वाडध्यक्षले संयुक्तरुपमा ध्यानाकर्षण गराइएको पोखरा महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले जानकारी दिए । वडाध्यक्षहरुले २५ औं कार्यपालिका बैठक लगायत अन्य बैठकले गरेका निर्णय अक्षरस कार्यान्वयन गर्न महानगर प्रमुखलाई ध्यानाकर्षण गराइएको उनले बताए ।

‘हाम्रो महानगरको २५ औं कार्यपालिका बैठकले करारमा रहेका कर्मचारी हटाएर लोकसेवा मार्फत उनीहरुको ठाउँमा कर्मचारी भर्ना गर्ने निर्णय भएको थियो । लोकसेवा मार्फत प्राविधिक कर्मचारी पनि आए तर, करारका कर्मचारी हटाइएन । लोकसेवाबाट आएका कर्मचारीलाई पदस्थापन गरेर करारका कर्मचारी हटाउन हामीले ध्यानाकर्षण गराएका हौं । एउटै पदमा लोकसेवाबाट आएको र करारको कर्मचारी रहन सक्दैनन्’ उनले भने, ‘सुशासनका लागि भएको निर्णय कार्यान्वयन गरेर अगाडि बढ्नुपर्छ भनेर ध्यानाकर्षण गराएका हौं ।’

ध्यानकर्षण पत्र बुझ्दै महानगर प्रमुख आचार्यले कार्यपालिका बैठकले गर्ने सिंगो महानगरको निर्णय भन्दै कार्यान्वयनमा आफू प्रतिवद्ध रहेको बताए । ‘हामीले ध्यानाकर्षण पत्र बुझायौं । प्रमुख ज्युले कार्यपालिका बैठकको निर्णय सिंगो नगरपालिकाको साझा निर्णय भएकाले यसको कार्यान्वयन हुन्छ भन्नुभएको छ’ वडाध्यक्ष पराजुलीले जानकारी दिए ।

  • ८ कार्तिक २०८१, बिहीबार ०८:०७ प्रकाशित