भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न रास्वपालाई सत्तापक्षको आग्रह

केन्द्रभाग मिडिया

काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न सत्तारुढ दलले आग्रह गरेका छन । बालुवाटारमा बसेको सत्तारुढ दलहरुको बैठकले संसदीय छानबिन समितिमा भएका दलहरुले रवि लामिछाने पक्राउको विरोध गर्नु नैतिक नहुने निष्कर्ष निकालेको छ ।

समितिले कारबाही सिफारिस गरेकामध्ये एक रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गरेको छ । तर रास्वपाले भने राजनीतिक प्रतिशोध राखेको भन्दै निरन्तर प्रदर्शन गर्दै आएको छ । सत्तारुढ दलहरुले भने सडकमा भीड जम्मा गरेर छानबिन तथा न्याय निरुपणको प्रक्रिया अवरुद्ध नगर्न आग्रह ।

बैठकपछि एमाले महासचिव शंकर पोखरेलले अदालतलाई समेत प्रभावित गर्ने हिसाबले गतिविधि गर्नु लोकतान्त्रिक दृष्टिकोणले उचित नभएको बताए । फौजदारी अभियोगमा छानबिन चलिरहेका बेला सडकबाट प्रभावित गर्न खोज्नु अनुचित भएको सत्तारुढ दलहरुको निष्कर्ष छ । संसदले नै निर्देशन दिएको अवस्थामा छानबिन प्रक्रिया अगाडि बढ्दा सहज रुप लिनुपर्ने पोखरेलको भनाइ छ ।

सत्ता पक्षको कुनै आग्रह नभएको भन्दै एमाले महासचिव पोखरेलले छानबिनको प्रक्रिया निश्पक्ष र पारदर्शी रुपमा अगाडि बढ्ने बताए । साथै उनले भीड जम्मा गरेर न्याय निरुपणलाई प्रभावित पार्ने प्रयास नगर्न रास्वपालाई आग्रह समेत गरे ।

 

  • ७ कार्तिक २०८१, बुधबार १२:५३ प्रकाशित