साफ वुमन्स च्याम्पियनसिपमा आज भुटान विरुद्ध खेल्दै नेपाल

केन्द्रभाग मिडिया

पोखरा ।

साफ वुमन्स च्याम्पियनसिप-२०२४ अन्तर्गत आज नेपालले भुटानसँग पहिलो खेल खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ ।

नेपालले यसअघि ६ संस्करणमध्ये चारपटक भुटानसँग खेलेको थियो । जसमा सबै खेल नेपालले जितेको छ । सन् २०१४ मा पाकिस्तानमा भएको तेस्रो साफमा नेपालले भुटानलाई ८-० ले पराजित गरेको थियो । सन् २०१६ मा भारतको सिलीगुरीमा भएको चौथो साफमा नेपालले भुटानलाई ८-० ले नै पराजित गरेको थियो ।

सन् २०१९ मा विराटनगरमा भएको पाँचौ साफमा नेपालले भुटानलाई ३-० ले पराजित गरेको थियो । पछिल्लो पटक सन् २०२२ मा दशरथ रंगशालामै भएको छैटौं साफमा नेपालले भुटानलाई ४-० ले पराजित गरेको थियो ।

साफमा नेपालले भुटान विरुद्ध अहिलेसम्म कुनै गोल खाएको छैन भने २३ गोल गरेको छ । तुलनात्मक रुपमा नेपालभन्दा भुटान कमजोर भएपनि पछिल्लो समय भुटानको फुटबलले प्रगति गरिरहेको छ ।

गोल मेसिन भनेर चिनिएकी मुख्य स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ विना नै नेपाल आज भुटानको विरुद्ध खेल्नेछ । साम्बा नहुँदा नेपालका अन्य खेलाडीका लागि राम्रो प्रदर्शन गर्ने र गोल गर्ने अवसर हुनेछ । युएईको अबुधाबी कन्ट्री क्लबबाट एएफसी वुमन्स च्याम्पियन्स लिग खेलेर आएकी रेखा पौडेल र रश्मि कुमारी घिसिङले नेपालको फरवार्ड लाइन सम्हाल्ने सम्भावना छ ।

प्रशिक्षक तामाङ र कप्तान एन्जिला तुम्बापो सुब्बाले यस पटक जसरी पनि उपाधि जित्ने लक्ष्यका साथ खेल्ने र त्यसका लागि आफ्नो टोली तयार रहेको बताएका छन् ।

  • २ कार्तिक २०८१, शुक्रबार ०७:५४ प्रकाशित