काठमाडौं।
नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवासँग पराजीत भए पनि डा. शेखर कोइराला पार्टीमा एउटा समूहको जबर्जस्त नेताका रूपमा उदाएका छन् । पहिलो चरणमा पाँच प्रत्याशीबीच भएको प्रतिस्पर्धामा शेखरले दोस्रो धेरै मत ल्याएपछि दोस्रो चरणको निर्वाचनमा देउवासँग भिडेका थिए ।
कोइराला परिवारबाट समेत असहयोग हुँदा पनि शेखर युवाहरूको टिम बनाएर मैदानमा होमीए। इतर समूहबाट शेखरसँगै प्रकाशमान सिंह पनि सभापतिको उम्मेदवार भए । तर, दोस्रो चरणमा प्रकाशमानले देउवालाई समर्थन गर्ने सहमति गरेपछि कोइराला इतर समूहको प्रमुख नेताका रूपमा रहे। वरिष्ठ नेता रामचन्द्र पौडेलइतर समूहमै सभापतिको साझा उम्मेदवार बन्न नसकेपछि चुनावी प्रक्रियामै सहभागी भएनन् । आफ्नै भाई डा. शशांक कोइराला पनि शेखरको पक्षमा खुलेनन्। यसले पनि शेखरलाई आफ्नो समूहको नेता बन्ने अवसर दिएको छ ।
शेखर र शशांक एकै परिवारका दाजुभाइ हुन् । शशांक बिपी कोइरालाका छोरा हुन् भने शेखर बिपीका भाइ केशवका छोरा हुन् । रामचन्द्र पौडेलजस्तै डा. शशांक कोइराला पनि कुनै उम्मेदवारतिर खुलेनन् । तर कोइराला मतदानमा भने सहभागी भए। चुनावमा शेखरले भाइ शशांकसँग भोट माग्न मीनेन्द्र रिजाललाई पठाउनु पर्यो । शशांकको महाराजगन्जस्थित निवासमै पुगेर मीनेन्द्रले शेखरको पक्षमा खुलिदिन आग्रह गरेका थिए ।