रविलाई पक्राउ गर्न लागेको भन्दै पोखरामा रास्वपा कार्यकर्ताहरुको विरोध प्रदर्शन

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेता कार्यकर्ताले विरोध प्रर्दशन गरेका छन् ।

पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गर्न लागिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता–कार्यकर्ताले पोखराको शहीद चोकमा विरोध प्रदर्शन गरेका हुन्।

लामिछानेमाथि राजनीतिक पूर्वाग्रह साँधेर फसाउन खोजिएको भन्दै उनीहरूले विरोध गरेका हुन् । गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक एवम् पूर्व डिआइजी छविलाल जोशी पक्राउ परेपछि रविलाई पनि पक्राउ गर्न सक्ने आंकलन गर्दै उनीहरुले विरोध थालेका हुन् ।

रास्वपा गण्डकी प्रदेश सभापति राजन गौतमको आह्वानमा पोखराको शहीद चोकमा नेता–कार्यकर्ताहरु भेला भएर प्रदर्शन गरिरहेका छन् । प्रदर्शनमा सहभागीहरुले सहकारी पीडितको पक्षमा र सरकारको विरोधमा लेखिएका नारा सहितका प्लेकार्ड बोकेका छन् ।

रास्वपा गण्डकी प्रदेश सभापति गौतमले विरोध कार्यक्रम निरन्तर चल्ने बताए ।सहकारीको रकम अपचलन सम्बन्धी संसदीय विशेष छानबिन समितिले गोरखा मिडिया प्रालिमा अनियमित तवरबाट विभिन्न सहकारीबाट ६५ करोड लगानी भएको निष्कर्ष निकालेको थियो ।

समिमितले गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने, अध्यक्ष जीबी राई, सञ्चालक कुमार रम्तेल र सदस्य छविलाल जोशीलाई कारबाही सिफारिस समेत गरेको थियो ।

सो प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषदको निर्णयपछि आइतबार गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक एवम् पूर्व डिआइजी छविलाल जोशी पक्राउ परेका थिए । उनलाई काठमाडौंमा पक्राउ गरेर आइतबार बेलुकी कास्की ल्याइएको छ । जोशीलाई आज अदालतमा उपस्थित गराउने प्रहरीको तयारी छ ।

  • ७ आश्विन २०८१, सोमबार ११:२१ प्रकाशित