प्रधानमन्त्री ओली आज अमेरिका जाँदै, यस्तो छ भ्रमण तालिका

केन्द्रभाग मिडिया

काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली आज (शुक्रबार) अमेरिका जाँदैछन् । संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९ औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली त्यसतर्फ प्रस्थान जान लागेका हुन् । उनले १० असोजमा संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने तय भएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली ८ असोजमा महासभाको साधारण बहसको उद्घाटनसत्र र ९ असोजमा अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् । न्यूयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले अतिकम विकसित देशहरूको ग्लोबल समन्वय ब्यूरोको अध्यक्षका रूपमा सम्मेलनलाई पनि सम्बोधन गर्ने मन्त्रालयले जनाएको छ।

साथै उनले समुद्री सतह वृद्धिबाट उत्पन्न अस्तित्व खतरा विषयक समूहगत उच्चस्तरीय बैठक र ‘एन्टिमाइक्रोबियल’ प्रतिरोध विषयक उच्चस्तरीय बैठकलाई पनि सम्बोधन गर्नेछन् । प्रधानमन्त्री ओलीले कोलम्बिया विश्वविद्यालयमा ७ असोजमा आयोजना हुने ‘नेपालको प्रजातन्त्र र आर्थिक समृद्धिको यात्रा’ विषयमा र ११ असोजमा हुने हार्वर्ड विश्वविद्यालयमा जोन एफ केनेडी जुनियर फोरममा ‘नेपालको परिप्रेक्ष्यः सङ्क्रमणकालीन न्यायबाट जलवायु न्याय’ विषयक कार्यक्रमलाई पनि सम्बोधन गर्ने कार्यतालिका छ ।

उनले भ्रमण क्रममा संयुक्त राष्ट्रसङ्द्धघका महासचिव एन्टोनियो गुटेरेससँग भेटघाट गर्नुका साथै द्विपक्षीय वार्तासमेत गर्नुहुने कार्यक्रम छ । प्रधानमन्त्री ओलीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारीहरू हुनेछन् ।

प्रधानमन्त्री ओली १४ असोजमा स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

  • ४ आश्विन २०८१, शुक्रबार ०६:५३ प्रकाशित