काठमाडौं।
संसदीय सुनुवाइ समितिमा नेपाली सेना र राष्ट्रिय सुरक्षासँग जोडिएको गम्भीर प्रकृतिको उजुरी परेको छ । शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले उक्त उजुरीलाई आवश्यक कारबाहीका लागि सचिवालयमार्फत सम्बन्धित मन्त्रालयमा पठाउने निर्णय गरेको हो।
बैठकपछि निर्णयहरू सार्वजनिक गर्दै समितिका सभापति बोधनारायण श्रेष्ठले सेना र सुरक्षासँग जोडिएको गम्भीर उजुरी प्राप्त भएको जानकारी दिएका छन्। उक्त उजुरी रक्षा वा गृह कुन मन्त्रालयसँग बढी सम्बन्धित छ भन्ने विषयमा विस्तृत अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउने जिम्मेवारी समितिको सचिवालयलाई दिइएको छ।
सभापति श्रेष्ठका अनुसार समितिमा प्राप्त उजुरी र त्यसको सुनुवाइ प्रक्रियाका क्रममा उठेका प्रश्नहरूबारे पनि बैठकमा छलफल भएको थियो। प्रस्तावित व्यक्तिको सुनुवाइका क्रममा माग गरिएका सूचनाहरूका सम्बन्धमा समितिले स्पष्ट पारेको छ । सुनुवाइ प्रक्रिया प्रत्यक्ष प्रसारण (लाइभ) र रेकर्ड हुने भएकाले सम्बन्धित व्यक्तिले रेकर्डबाटै आवश्यक जानकारी लिन सक्ने समितिको निष्कर्ष छ।
यसैबिच समिति सदस्यहरूले गर्ने व्यक्तिगत अध्ययनको विषय नितान्त निजी हुने भएकाले त्यसको जानकारी सार्वजनिक गरिरहनु नपर्ने र सूचनाको हक सम्बन्धी विषयमा प्रचलित कानुन बमोजिम नै प्रक्रिया अघि बढ्ने सभापति श्रेष्ठले बताए । बैठकले आगामी १८ र १९ गते समितिका सदस्यहरूका लागि आयोजना गरिने अभिमुखीकरण कार्यक्रमको स्थान र विषयवस्तु तय गर्ने जिम्मेवारीसमेत सचिवालयलाई सुम्पिएको छ।











