फेवाताल जलाधार क्षेत्रको दिगो व्यवस्थापनका लागि प्रभावकारी समन्वय आवश्यक : मेयर आचार्य

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फेवाताल र जलाधार क्षेत्रको दिगो व्यवस्थापनका लागि प्रभावकारी समन्वयमा जोड दिएका छन्।

महानगरपालिकाको समन्वयमा अनुसन्धानात्मक संस्था इनोभेटिभ भिजन प्रा.लि.ले आयोजना गरेको ‘फेवाताल र त्यसको जलाधार क्षेत्रको दिगो व्यवस्थापनका लागि पारिस्थिततिकीय सेवा शुल्क भुक्तानी संयन्त्र स्थापनाको लागि सरोकारवाालाहरुको कार्यशाला’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘अनियन्त्रित मानवीय क्रियाकलापका कारण फेवाताल गेग्रयानहरुले भरिँदै गएको छ, माथिल्लो तटीय क्षेत्र र यसका जलाधार क्षेत्रहरूबाट बगेर आउने गेग्र्यान तालमा थुप्रिएका छन्, नगर प्रमुख आचार्यले भने, यी अनियन्त्रित मानवीय क्रियाकलापका परिणामहरू हुन्, यसलाई समयमा नै रोक्न सकिएन र सबै सरोकारवालाहरू बिच आवश्यक समन्वय हुन सकेन भने भविष्यमा आउन सक्ने गम्भीर वातावरणीय जोखिमको सामना गर्नु पर्ने हुन्छ।’ फेवातालको संरक्षण भविष्यको पुस्ताका लागि पनि महत्त्वपूर्ण हुने भन्दै उहाँले यसमा चनाखो बन्न सबै पक्षलाई आह्वान समेत गरे ।

फेवातालको संरक्षणका लागि तल्लो तटीय क्षेत्रले माथिल्लो तटीय क्षेत्रको समग्र वातावरण संरक्षण र जीविकोपार्जन लगायत क्षेत्रमा योगदान गर्नु पर्ने उनले बताए । ‘फेवाताल देखाएर माथिल्लो जलाधार क्षेत्रमा बसोबास गरिरहेका बासिन्दाहरूलाई विभिन्न किसिमका अङ्कुशहरू लगाउने अनि त्यसको फाइदा सधैभरी तल्लो तटीय क्षेत्रले मात्र लिने कुरा प्राकृतिक न्यायको सिद्धान्तका हिसाबले पनि मिलेको छैन, उनले भने, अव यसको व्यवस्थापनका लागि पारिस्थितिकीय सेवा शुल्क भुक्तानीको बलियो संयन्त्र स्थापना गरी सन्तुलन कायम गर्नै पर्दछ।’ यसो गर्न सके मात्र फेवातालको संरक्षण र विकासको दायित्व सवैपक्षमा बढ्ने उनले विश्वास व्यक्त गरे।

फेवातालमा बर्सेनि बगेर आउने ठुलो मात्राको गेग्र्यान रोक्नका लागि तालको माथिल्लो क्षेत्रमा मड ड्याम निर्माण गर्ने योजनामा महानगरपालिका रहेको उनले बताए । यसअघि फेवातालमा मिसिने विभिन्न खोलाहरूमा निर्माण गरिएका शिल्टेसन तथा चेक ड्यामहरूले समेत फेवातालमा आउने गेग्रयानहरुलाई रोक्न मद्दत गरेको उनले बताए ।

  • २४ भाद्र २०८१, सोमबार १६:५१ प्रकाशित