चितवनमा डेङ्गीबाट थप एक जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

चितवन जिल्लामा थप एक जनाको डेङ्गीको सङ्क्रमणबाट ज्यान गएको छ । ज्यान गुमाउनेमा भरतपुर महानगरपालिका–२० चनौलिका ४१ वर्षीय पुरुष रहेका छन् । उनको उपचारका क्रममा भरतपुर अस्पतालमा ज्यान गएको हो ।

ज्वरो आएर उपचारका लागि आएका उनको उपचारका क्रममा ज्यान गएको हो । शुक्रबार अस्पताल भर्ना भएका उनको मङ्गलबार गएको भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा .कल्याण सापकोटाले जानकारी दिए। उनका अनुसार बिरामीमा कडा खालको डेङ्गी देखिएको थियो ।

शरिरका विभिन्न भागबाट रक्तश्राव भई अङ्गहरुले काम गर्न छाडेर (मल्टि अर्गान फेलर) उनको ज्यान गएको हो । उनको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । यसअघि शनिबार चितवन मेडिकल कलेजमा भरतपुर–२ का ६३ वर्षीय वृद्धको डेङ्गीको सङ्क्रमणका कारण ज्यान गएको थियो।

जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये सात सय ८८ जनामा डेङ्गीको सङ्क्रमण देखिएको छ । तीन हजार तीन सय ३१ जनाको परीक्षणका क्रममा उनीहरुमा यो रोगको सङ्क्रमण देखिएको हो । सङ्क्रमितमध्ये पाँच सय ८० जना चितवनका र अन्य जिल्ला बाहिरका रहेका छन् ।

  • १९ भाद्र २०८१, बुधबार १६:४५ प्रकाशित