कालिकोट ।
कालिकोटमा अटो दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा महावै गाउँपालिका- ५, गेला भन्ने ठाउँका ३५ वर्षीय मंगलबहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख हिमबहादुर खत्रीले बताए ।
उनका अनुसार, सोमबार सुर्खेत-जुम्ला राजमार्ग अन्तर्गत खाँडाचक्र नगरपालिका- ७, पिलीमा कर्णाली प्रदेश ०२००१ ह ११९४ नम्बरको अटो दुर्घटना भएको थियो ।
पिलीबाट सदरमुकाम मान्मतर्फ आइरहेको उक्त अटो सडकको पर्खालमा ठोकिएर दुर्घटना भएको थियो ।त्यस्तै दुर्घटनामा अन्य ३ जना घाइते भएको पनि उनले बताए । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको पनि प्रहरीले जनाएको छ ।












