कास्कीका पुस्तक तथा स्टेसनरी व्यवसायीलाई कर प्रशिक्षण

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ जिल्ला शाखा कास्कीको आयोजनामा शनिबार पोखरामा कर प्रशिक्षण, व्यवसाय अभिमुखिकरण तालिम तथा तिज फेलोसिप कार्यक्रम भएको छ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष शिव सागर शर्माले कार्यक्रमको उद्घाटन गर्दै मूल्य र छुटमा एक रुपता भए व्यवसायमा सहजता आउने बताए । त्यसका लागि पहल भइरहेको उनले जानकारी दिए ।

अध्यक्ष शर्माले १५ वर्षदेखि निजी पाठ्य पुस्तक समायोजन हुन नसकेको बताउँदै समायोजनका लागि सरकारसंग आग्रह गरिएको बताए । त्यसैगरी जनक शिक्षा सामग्रीले प्रकाशन गर्ने पाठ्या पुस्तकको मूल्यमा समेत असमानता हटाउन शिक्षा मन्त्री विद्या भट्टराईसंग छलफल गरिएको जानकारी दिए ।

कार्यक्रम विशेष अतिथि नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद पोखरेलले व्यवसायी हितकोष स्थापना गरिएको जानकारी दिए । उनले यो कोषलाई पूर्णता दिने र व्यवसायीको हितमा प्रयोग गर्ने बताए । यस कोषमा योगदान दिन गण्डकी प्रदेशका सबै व्यवसायीलाई आग्रह गरे । हित कोषमा प्रति व्यवसायीबाट ५ हजार रुपैयाँ लिने र यसलाई कोषमा राखेर व्यवसायीको हितमा प्रयोग गर्ने बताए ।

उनले व्यवसाय र व्यवसायीमा देखिएका विकृति विसंगतिको अन्त्यका लागि व्यसायी बीच निरन्तर छलफल र अन्तरक्रिया हुनुपर्ने धारणा राखे । उनले व्यवसायी भवन निर्माणका लागि आफूहरुले पहल गर्ने बताए ।

कलम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष आर्जुन प्रसाद पोखरेल, पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ कास्कीका अध्यक्ष कविन्द्र पोखरेल, सल्लाहकार देवकृष्ण काफ्ले, दृतीय उपाध्यक्ष ध्रुवप्रसाद पोखरेल, सचिव सञ्जय रेग्मी, कार्यक्रम संयोजक रामप्रसाद सुवेदी लगायतले उद्घाटन सत्रमा आफ्ना धारणा राखेका थिए ।

उद्घाटन पस्चात आन्तरिक राजश्व कार्यालय पोखराका कर अधिकृत सनु काफ्ले  कर र व्यवसाय सम्बन्धी प्रशिक्षण दिएका छन् भने, तिज फेलोसिप कार्यक्रम समेत रहेको छ । कार्यक्रममा डा. रविन कटुवालले मोटिभेसनल प्रशिक्षण दिँदैछन् । कार्यक्रममा करिव दुई सय व्यवसायी सहभागी रहेको भिजन पुस्तक पसलका सञ्चालक हरि खनालले जानकारी दिए ।

  • ८ भाद्र २०८१, शनिबार ११:१७ प्रकाशित