पोखरा ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलामा धार्मिक महोत्सव हुने भएको छ । धार्मिक पर्यटनलाई विकास र प्रवर्द्धनका लागि सो क्षेत्रमा बृहत् धार्मिक महोत्सव आयोजना गरिने भएको हो ।
स्थानीय शिवालय मन्दिर व्यवस्थापन समितिको आयोजनामा आगामी भदौ ६ देखि १४ गतेसम्म श्रीमद्भागवत् महापुराण सप्ताह ज्ञान महायज्ञ र धार्मिक महोत्सव गर्न लागिएको हो ।
महायज्ञबाट सङ्कलित रकमले खाँदरजुङ्गस्थित घोप्टेडाँडालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नेगरी विशाल शिवजीको मूर्ति, बुद्धमूर्ति, ज्योतिलिङ्गसहित एक सय आठ शिवलिङ्ग स्थापना र मन्दिरको छाना ताम्रपत्र गरिने योजना रहेको महायज्ञका संरक्षक एवं माछापुच्छ्रे–२ का वडाध्यक्ष गणेश आचार्यले बताए ।
भराभरीको ढुङ्गाखानी, खारपानीको तातोपानी, खैमराङको महादेव मन्दिर तथा भुर्जुङखोलामा अवस्थित शिवालय मन्दिर र ट्रेकिङ जानेहरूका लागि प्रसिद्ध गन्तव्य तारा हिलटप यस क्षेत्रका स्थानीय सांस्कृतिक तथा प्राकृतिक गन्तव्यका रूपमा रहेका छन् ।
आयोजक शिवालय महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सर्वजित गुरुङले महायज्ञबाट रु चारदेखि पाँच करोडसम्म रकम सङ्कलन हुने अपेक्षा गरिएको बताए । शिवालय मन्दिर व्यवस्थापन समितिले आयोजना गरेको धार्मिक महोत्वको संरक्षकमा माछापुच्छ्रे गाउँपालिका र सहसंरक्षकमा माछापुच्छ्रे गाउँपालिका–२ वडा कार्यालय रहेको छ ।
श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ धार्मिक महोत्सवको तयारीका लागि विभिन्न उपसमिति गठन गरी अहिले काम अघि बढाइएको छ । महोत्सवलाई सफल पार्न सार्दिखोलाका सम्पूर्ण सङ्घसंस्था, आमा समूह, शैक्षिक संस्था तथा जनसमुदाय एक भएर लागिपरेको बताइन्छ ।














