पोखरा ।
पोखराका शिक्षासेवी नरनाथ भट्टराईले सम्मान वापत पाएको रकममा थप गरी विद्यालयलाई सहयोग गरेका छन । बाटुलेचौर निवासी भट्टराईले जोर्ज जोन शिक्षा प्रतिष्ठानवाट सम्मानित हुँदा प्राप्त गरेको नगद १० हजारमा, १० हजार थप गरी नगद २० हजार रुपैयाँ स्थानीय विन्ध्यवासिनी माविलाई सहयोग गरेका हुन ।
विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष समेत रहनु भएका भट्टराईले विद्यालयको शैक्षिक विकासका लागि विहीबार सो रकम बराबरको चेक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्य र सहायक प्रधानाध्यापक रामबहादुर बानियाँलाई हस्तान्तरण गरे । कार्यक्रममा भट्टराईले विद्यालय राष्ट्रिय स्तरको नमुना विद्यालयको रूपमा चिनिएको मा खुसी व्यक्त गर्दै, आफुले गरेको सहयोग सानो भएपनि यसले महत्व राख्ने बताए ।
प्रधानाध्यापक आर्चायले भट्टराईले विद्यालयका हरेक गतिविधिमा सहयोग पुर्याउदै बताउदै उनको सम्मानले विद्यालयको गौरव समेत बढेको बताए । सहायक प्रधानाध्यापक बानियाँले भट्टराईमा अन्तर्निहित, उदारमना, एवं परोपकारी भावनाको उच्च मुल्यांकन गर्दै कार्यको प्रशंसा गरे । भट्टराई जोर्ज जोन शिक्षा प्रतिष्ठानको २८ औं बार्षिकोत्सवको अवसरमा, शिक्षासेवीको रूपमा सम्मानित भएका थिए ।