काठमाडौं ।
ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भा राष्ट्रपति निर्वाचनमा विजयी भएका छन् । यससंगै उनले ब्राजिलको चौथो पटक राष्ट्रपति बन्ने अवसर प्राप्त गरेका छन् ।
उनले कट्टर दक्षिणपन्थी प्रतिद्वन्द्वी फ्लाभियो बोल्सोनारोलाई झिनो मतान्तरले पराजित गरेका हुन् । निर्वाचनको दोस्रो चरणको मतगणनामा लुलाले ५१.७६ प्रतिशत मत प्राप्त गर्दा फ्लाभियोले ४८.२४ प्रतिशत मत पाएका छन् । निर्वाचनपूर्वका केही सर्वेक्षणमा फ्लाभियो अगाडि देखिए पनि अन्तिम नतिजा लुलाको पक्षमा आएको हो ।
यसअघि लुलाले सन् २००३ देखि २०१० सम्म दुई कार्यकाल ब्राजिलको नेतृत्व गरेका थिए । चार वर्षअघि तेस्रो पटक राष्ट्रपति बनेका उनी यस जितसँगै देशको राजनीतिमा आफ्नो प्रभाव कायम राख्न सफल भएका छन् ।
निर्वाचनका क्रममा सार्वजनिक यातायातसम्बन्धी समस्याका कारण मतदातालाई मतदान केन्द्रसम्म पुग्न कठिन भएको भन्दै लुलाको गठबन्धनले गुनासो गरेको थियो । त्यसपछि सर्वोच्च अदालतका एक न्यायाधीशले मतदानको समय दुई घण्टा थप्ने आदेश दिएका थिए ।
लुलाको जितलाई ल्याटिन अमेरिकामा दक्षिणपन्थी राजनीतिक शक्तिको बढ्दो प्रभावबीच आएको महत्त्वपूर्ण परिणामका रूपमा हेरिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले यस क्षेत्रका रूढिवादी नेताहरूसँग निकट सम्बन्ध विस्तार गर्न खोजिरहेका बेला लुलाको पुनरागमनले अमेरिकी रणनीतिमा चुनौती थप्न सक्ने विश्लेषण गरिएको छ ।
लुलाले ट्रम्पको आक्रामक विदेश नीतिको आलोचना गर्दै आएका छन् । उता, फ्लाभियोले निर्वाचित भएको भए अमेरिकी प्रशासनसँग निकट सम्बन्ध बनाउने प्रतिबद्धता जनाएका थिए ।
अमेरिकाले पछिल्लो समय ब्राजिलमाथि व्यापार शुल्क र अन्य प्रतिबन्धसमेत लगाएको थियो । चुनावी अभियानका क्रममा लुलाले ऋणमाफी, सप्ताहान्तमा निःशुल्क सार्वजनिक यातायात र गरिब विद्यार्थीलाई आर्थिक सहायता दिने घोषणासमेत गरेका थिए ।
विपक्षीले भने यस्ता कार्यक्रमले सरकारी वित्तीय अवस्थामाथि दबाब बढाउने र मतदातालाई प्रभावित पार्ने आरोप लगाएको थियो । फ्लाभियोका पिता तथा पूर्वराष्ट्रपति जाइर बोल्सोनारो सन् २०२२ को निर्वाचनपछि सत्ता पल्टाउने षड्यन्त्र गरेको अभियोगमा दोषी ठहर भएका थिए । उनी २७ वर्षको जेल सजाय भोगिरहेका छन् । स्वास्थ्यका कारण उनलाई हाल घरमै राखिएको बताइएको छ ।
मेटल उद्योगमा काम गरेका तथा ट्रेड युनियनबाट राजनीति सुरु गरेका ८० वर्षीय लुलाले आफ्नो राजनीतिक जीवनमा गरिबी न्यूनीकरण र सामाजिक कल्याणका कार्यक्रमलाई प्राथमिकता दिएका थिए ।
भ्रष्टाचारसम्बन्धी मुद्दामा जेलसमेत परेका उनी पछि रिहा भएर राजनीतिमा फर्किएका थिए । सन् २०२२ मा जाइर बोल्सोनारोलाई पराजित गर्दै उनले पुनः राष्ट्रपति पद हासिल गरेका थिए ।
लुलाको पछिल्लो जितले ब्राजिलको राजनीतिमा बोल्सोनारो परिवारले अघि बढाएको दक्षिणपन्थी लोकलुभावन राजनीतिक आन्दोलनलाई धक्का दिएको छ ।
करिब पाँच दशक लामो राजनीतिक यात्रामा लुलाले हासिल गरेको यो जितलाई उनको राजनीतिक जीवनको अर्को महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।
लुलाको नयाँ कार्यकाल सन् २०२७ जनवरी ५ देखि सुरु हुने बताइएको छ ।













