एनपीएलको तेस्रो संस्करण आजबाट सुरु हुँदै, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि काठमाडौंमा सुरु हुँदैछ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रतियोगिता सुरु हुन लागेको हो । कीर्तिपुर मैदानमा आज अपराह्न साढे ४ बजे तेस्रो संस्करणको एनपीएलको उद्घाटन खेल हुनेछ ।

उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन् । रोहितकुमार पौडेलको कप्तानीमा रहने लुम्बिनी र दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहने सुदूरपश्चिमको भिडन्तले अघिल्लो संस्करणको फाइनल खेलको झल्को दिनेछ ।

त्यतिबेला सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले उपाधि जितेको थियो। लुम्बिनी गत सिजनको विजेतका हिसाबले सुखद सुरूवात गर्ने लक्ष्यमा रहनेछ भने अघिल्लो हारको बदला लिने दाउमा सुदूरपश्चिम रहनेछ ।

प्रतियोगितामा विगतकै आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् । लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, काठमाडौं गोर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, पोखरा एभेन्जर्स र कर्णाली याक्सले प्रतिस्पर्धा गर्न लागेका हुन् ।

तेस्रो एनपीएलको सिंगल राउन्ड रोबिन, इलिमिनेटर र क्वालिफायर हुँदै मंसिर ५ गते उपाधि भिडन्त हुने छ । क्यानका कोषाध्यक्ष पदमबहादुर खड्काका अनुसार एनपीएल तेस्रो संस्करणको विजेताले एक करोड ५० लाख रुपैयाँ पुरस्कार पाउने जानकारी दिए । यसैगरी उपविजेताले ८० लाख, तेस्रो हुनेले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्ने छन् ।

अघिल्ला संस्करणको तुलनामा यस वर्ष नगद पुरस्कार रकम बढाइएको छ । गत संस्करणको विजेता लुम्बिनी लायन्सले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराएर च्याम्पियन बन्दा एक करोड १० लाख रुपैयाँ पुरस्कार पाएको थियो ।

एनपीएलको तेस्रो संस्करणलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले मान्यता दिएको छ । त्यसैले यस संस्करणमा विदेशी स्टार खेलाडीहरूको समेत उल्लेख्य सहभागिता छ ।

अस्ट्रेलियाका पूर्वकप्तान डेभिड वार्नर काठमाण्डु गोर्खाजबाट खेल्दैछन् । वेस्ट इन्डिजका आन्द्रे रसेल तथा श्रीलंकाका एन्जेलो म्याथ्युज र चरिथ अशलंका बिराटनगर किङ्गसमा अनुबन्ध भएका छन् ।

सेरफान रदरफर्ड र फेबिएन एलेन सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन् । बंगलादेशका अलराउन्डर सकिब अल हसन, मोहम्मद सैफुदिन, साकिब अल हसन र महेदी हसन पोखरा एभेन्जर्समा अनुबन्ध छन् ।

यसैगरी दक्षिण अफ्रिकाका फिनिसर डेभिड मिलर, पाकिस्तानका हुसैन तलात र शाहबजाद परहान तथा बंगलादेशका अरिफुल इस्लाम र अकबर अली कर्णाली याक्समा अनुबन्ध भएका छन् ।

लुम्बिनीमा बंगलादेशका अलराउन्डर सामी हुसेन अनुबन्ध छन् । पाकिस्तानका अलराउन्डर मोहम्मद नवाज, हैदर अली, उस्मान मिर, हसन अली, इफ्तिखर अहमद, इंग्ल्यान्डका मोइन अली, न्यूजिल्यान्डका जिम्मी मिसन, विश्व नम्बर एक अलराउन्डर सिकन्दर राजा ९जिम्बाबेका कप्तान० लगायत स्टार खेलाडीहरूको खेल पनि यसपटक एनपीएलमा देख्न पाइने छ ।

यस प्रतियोगितामा नेपालमै पहिलो पटक डिसिजन रिभ्यु सिस्ट (डीआरएस) को प्रयोग हुने छ । अब थर्ड अम्पायरहरूले अनफिल्ड अम्पायरलाई निर्णय दिन कठिनाइ भएको अवस्थामा डीआरएस प्रविधिको सहायता लिइने छ ।

विशेष, एलबीडब्लू, रनआउट, स्टम्पिङ, फ्रन्टफुट नोबल, वाइडका निर्णय गर्नुका साथै छक्काको दुरी र उचाइ मापन गर्न पनि प्रविधिको प्रयोग हुने छ । प्रत्येक टोलीले एकपटकमा दुई वटा ‘रिभ्यू’ लिन पाउने नियम छ ।

  • ९ कार्तिक २०८३, सोमबार ०८:१२ प्रकाशित