गण्डकीको प्रेस रजिष्टारका लागि ५ जनाको दरखास्त

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेशको पहिलो प्रेस रजिष्ट्रारका लागि ५ जनाले उम्मेदवारी दिएका छन् । गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रेस रजिष्ट्रार नियुक्तिका लागि १५ दिनको म्याद दिएर गत १६ साउनमा सार्वजनिक गरेको दरखास्तको म्याद हिजो(बुधबार)सकिएको छ।

छनोट समितिका सदस्यसचिव समेत रहेका मुख्यमन्त्री कार्यालयका सचिव केशवराज ढकालले उक्त पदका लागि ५ जनाको दरखास्त परेको जानकारी दिए। दर्ता नम्बर अनुसार क्रमशः पत्रकारहरु भरत कोइराला, भानु पराजुली, दुर्गा अधिकारी, सरिता तिम्सिना पगेनी र विमला भण्डारीले व्यावसायिक कार्ययोजनासहितको दस्तखास्त पेस गरेका हुन् । जसअनुसार अब उम्मेदवारले व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरणसँगै अन्तर्वार्तामा सहभागी हुनुपर्ने सदस्यसचिव ढकालले बताए ।

आर्थिक मामिला मन्त्री एवं सरकारका प्रवक्ता डा.टकराज गुरुङको संयोजकत्वमा गठित ३ सदस्यीय छनोट समितिले तीमध्येबाट ३ जनाको नाम सिफारिस गर्नेछ । र, मन्त्रिपरिषद्को निर्णयसँगै गण्डकी प्रदेशले पहिलो प्रेस रजिष्ट्रार प्राप्त गर्नेछ । छनोट समितिका विज्ञ सदस्यको रुपमा अग्रज पत्रकार रवीन्द्र बास्तोला छन् ।

गण्डकी प्रदेश आमसञ्चार ऐन, २०८० बमोजिम प्रेस रजिष्ट्रार नियुक्ति हुन लागेको हो । प्रेस रजिष्ट्रारको कार्यकाल ४ वर्षको हुनेछ ।

  • ३१ श्रावण २०८१, बिहीबार ०९:५४ प्रकाशित