काठमाडौं ।
चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलो भन्ने ठाउँमा माथिबाट खसेको ढुंगा लागेर ज्यान गुमाएका बस चालक मेघनाथ विकका परिवारलाई सरकारले नगद ५ लाख रुपैयाँसहित सम्मान गर्ने भएको छ ।
अगष्ट १९ तारिख (भदौ ३ गते) मनाइने विश्व मानवीय दिवसको अवसरमा गृहमन्त्री रमेश लेखकले सम्मान गर्ने भएका हुन् ।
संयुक्त राष्ट्रसंघको आह्वानमा विश्व मानवीय दिवस अगष्ट १९ मा विश्वभर मनाइन्छ । यस दिन प्राकृतिक विपद्को बेला खोज, उद्धार तथा जीवन रक्षा लगायतका काममा उत्कृष्ट योगदान गरेकाहरुको स्मरण गर्दै उनीहरुलाई सम्मान गरिन्छ ।
यो दिवस यस वर्ष नेपाल सरकारले सुर्खेतमा कार्यक्रम गरी मनाइँदै छ । बस चालक विकका परिवारलाई सोही दिन नगद पाँच लाख सहित गृहमन्त्रीले सम्मान गर्ने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा। डिजन भट्टराईले जानकारी दिए ।














