काठमाडौं ।
ग्रीन कार्डको प्रलोभनमा पारी मौरिसस पु¥याई मानब बेचबिखन गरेको अभियोगमा झापा कमल गाउँपालिका–१ घर भएका ५४ वर्षीय बुद्धिराज न्यौपानेलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पीडित गत असार २० गते नेपाल फर्किई उजुरी दिएपश्चात मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई काठमाडौं गोकर्णेश्वर नगरपालिका–७ गौरीघाटबाट पक्राउ गरेको हो ।
न्यौपानेले मासिक ७० हजार रूपैयाँ तलबमा कुकको काममा लगाइदिने तथा काम गरेको केही समयपछि ग्रिन कार्ड समेत पाइने भनि प्रलोभन देखाई २ लाख ५० हजार रूपैयाँ लिई २०८० मंसिर १३ गते नेपालबाट भारतको नयाँ दिल्ली हुँदै मौरिसस पु¥याई मौरिसियन नागरिकको जिम्मा लगाई दैनिक १७/१८ घण्टा घरको काम लगाई समयमा खाना खान र तलब समेत नदिई चरम श्रम शोषण तथा यौन शोषण गरेको अनुसन्धानबाट खुल्न आएको छ ।
उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । त्यसैगरी वैदेशिक रोजगारमा पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका ३१ बानेश्वर बस्ने कैलाली गोदावरी नगरपालिका २ घर भएकी २७ वर्षीया दीपा चन्दलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
दीपाले आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख ३५ हजार रूपैयाँ लिई सम्पर्क विहीन भएको भन्ने उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई भक्तपुर ठिमीबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।