माओवादी स्थायी समिति बैठक : अध्यक्ष प्रचण्डले बिहीबार जवाफ दिने

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार जवाफ दिने भएका छन् । बैठकमा नेताहरूले धारणा राख्ने क्रम सकिएको छ ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा पाँच दिनसम्म सञ्चालन भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राखेको ‘वर्तमान परिस्थिति र पार्टी रूपान्तरणको नयाँ कार्यभार’ सम्बन्धी मौखिक प्रस्तावमाथि २१ जना पदाधिकारीसहित २२ जना स्थायी समिति सदस्य, केन्द्रीय निकायका प्रमुख लगायतले आ–आफ्ना धारणा राखेका थिए ।

नेताहरूले उठाएका प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले दिएपछि बैठक बिहीबार सकिने सचिव गणेश साहले जानकारी दिए । बुधबार संसद्मा टीआरसीसम्बन्धी छलफलमा नेताहरू व्यस्त रहने भएकाले बैठक बिहीबार ११ बजे बोलाइएको साहले बताए ।

‘नेताहरूले बोल्ने क्रम सकिएको छ । उठेका प्रश्नको जवाफ दिएपछि बैठक बिहीबार सकिनेछ । बुधबार संसद्मा टीआरसी विधेयक सम्बन्धमा छलफल गर्नुपर्ने भएकाले बैठक बिहीबार राखिएको हो’, साहले भने ।

यद्यपि स्थायी समिति बैठकबाट नेताहरूको कार्यविभाजन हुने सम्भावना नरहेको उनको भनाइ छ । तथापि विचारको संश्लेषणसहित पार्टी निर्माणका कार्यक्रमको खाका तयार पार्ने, केन्द्रीय समिति बैठकको मिति तय हुन सक्ने साहले बताए । आजको बैठकमा उपमहासचिव हरिबोल गजुरेलसहित १४ जना नेताहरूले आ–आफ्ना विचार राखेका थिए ।

  • २९ श्रावण २०८१, मंगलवार १७:११ प्रकाशित