एयर डाइनेस्टी दुर्घटना : मृतक चिनियाँ नागरिकको दाँतको परीक्षणबाट सनाखत

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेका चिनियाँ नागरिकको सनाखत भएको छ ।

हेलिकप्टर दुर्घटनामा परेका चिनियाँ नागरिकको परिवारबाट पहिचानको आधार संकलन भएर मृतकको दाँतको परीक्षणबाट सनाखत भएको हो ।

चिनियाँ पर्यटक जुदाड टाङ (पुरुष), जी ली (पुरुष), यियाद वु (महिला) र जेमिङ सी (पुरुष) को शव सनाखत भएको त्रिवि शिक्षण अस्पताल फोरेन्सिक विभागका प्रमुख डा।गोपालप्रसाद चौधरीले जानकारी दिए । ‘दाँतको परीक्षणबाट सनाखत भएको छ,’ उनले भने, ‘शव हामीसँगै छ, उहाँहरूको परिवारले यही अन्त्येष्टि गर्ने वा लैजाने भनेर सल्लाह गर्दै हुनुहुन्छ ।’

मृतकको सनाखत शव डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन प्रणाली पोस्टमार्टमबाट गरिन्छ । डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन प्रणालीबाट पोस्टमार्टम गर्दा सुरुमा शव सनाखतका लागि फिंगर प्रिन्ट, डेन्टल (दाँतको भाग) र शरीरमा स्थायी रूपमा बनेका सङ्केतहरू (खत, ट्याटु आदि), पहिरन, गहना लगायत हेरिने डा। चौधरीको भनाई छ ।

साउन गत २३ गते बुधबार दिउँसो काठमाडौँ विमानस्थलबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको हेलिकप्टर दुर्घटना भएको थियो । सो दुर्घटनामा परी क्याप्टेन अरुण मल्लसहित चार चिनियाँ नागरिकको ज्यान गएको थियो ।

  • २९ श्रावण २०८१, मंगलवार १६:१० प्रकाशित