पोखरामा स्कुल बस बिहान साढे ८ बजेबाट सञ्चालन गर्न सुझाव

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरामा स्कुल बस बिहान साढे ८ बजेबाट मात्रै सञ्चालन गर्न सुझाव दिइएको छ ।

स्कुल बस सञ्चालनलाई सुरक्षित बनाउन सुझाव दिने गरी गठित अध्ययन समितिले विद्यालय सञ्चालनको डेढ घण्टा अघि मात्रै विद्यार्थी ओसार्न सुझाव दिएको हो। विद्यालयले आवश्यकताका आधारमा मात्रै बस सञ्चालन गर्नुपर्ने र बिहान साढे ८ बजेबाट विद्यार्थी लिन बस निस्किनुपर्ने समितिको सुझाव छ ।

यस्तै, ट्राफिक नियम तथा सडक सुरक्षा प्रति सजग हुन, बस चलाइरहेको बेला चालकले मोबाइलमा कुरा नगर्न, विद्यार्थी चढ्दा र झर्दाको समयमा अत्यन्तै सावधानी अपनाउन सुझाइएको छ । साउन १४ गते पोखरा २१ मा भएको बस दुर्घटनाको कारण पत्ता लगाउन गठन भएको समितिले यस्ता सुझाव दिएको हो ।

उक्त बस ब्रेक फेल भएर दुर्घटना भएको प्रतिवेदन दिइएको छ । बिरौटा स्थित एलपी देवकोटा मेमोरियल स्कुलको बस दुर्घटनामा आमा छोराको ज्यान गएको थियो भने २८ जना घाइते भएका थिए । दुर्घटना लगत्तै महानगरले शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यको संयोजकत्व छानबिन समिति गठन भएको हो ।

समितिले एउटा स्कुल बसले अर्को विद्यालयका विद्यार्थी, अभिभावक वा विद्यार्थी बाहेक कसैलाई नचढाउन भनेको छ ।

  • २९ श्रावण २०८१, मंगलवार १०:४४ प्रकाशित