विषाक्त माछा खाँदा एकै परिवारका तीन बालबालिकाको ज्यान गयो

केन्द्रभाग मिडिया

बारा ।

बाराको सिम्रौनगढ नगरपालिकामा विषाक्त खानाका कारण एकै परिवारका तीन बालबालिकाको ज्यान गएको छ । सिम्रौनगढ नगरपालिका–७ झवानी टोलको नरेश रामको परिवारले विषाक्त खाना ९माछा० खाँदा उनका दुई छोरी र एक छोराको ज्यान गएको हो ।

आइतबार अमिरी राम चमारका नाति नरेश रामले भारतबाट माछा बेच्न आएका व्यापारीबाट माछा खरिद गरेका थिए । भारतबाट माछा बेच्न आएका व्यापारीबाट माछा खरिद गरी खाना पकाएर खाँदा बिरामी भएका ३ जना बालबालिकाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ । स्थानीयले जानकारी दिएका छन् ।

शनिवार राति खाना पकाएर सबै परिवारका सदस्यले खाएपछि केही समयमै नरेश रामका छोरीहरू ९ वर्षीया लालिमा राम र ७ वर्षीया पुष्पा राम तथा ५ वर्षीया छोरा कृष्णन्दन रामको पेट दुख्ने, बान्ता हुने र झाडापखालाको समस्या देखा परेको थियो ।

स्वास्थ्यमा समस्या देखिएपछि उनीहरूको उपचारका लागि स्थानीय सिम्रौनगढकै स्वास्थ्य क्लिनिकमा लगिएको थियो । तर स्वास्थ्य चौकीले स्वास्थ्य अवस्था गम्भीर रहेको भन्दै थप उपचारका लागि प्रादेशिक अस्पताल कलैया पठाएको थियो ।

अस्पताल पुग्नुअघि नै ९ वर्षीया लालिमा रामको बाटोमै ज्यान गएको थियो । बाँकी दुई जना बालबालिकाको अवस्थालाई थप जटिल भएपछि कलैया अस्पतालले उनीहरूलाई वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा पठाएको थियो ।

नेसनल मेडिकल कलेजमा उपचारको क्रममा गएराति पुष्पा राम र कृष्णदन्दन रामको समेत ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । खाना खाएपछि बालबालिकाहरूको स्वास्थ्यमा समस्या देखिएकाले फुड प्वाइजनको कारण ज्यान गएको उपचारमा संलग्न चिकित्सकहरूको प्रारम्भिक अनुमान रहेको छ ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको र तीन जना बालबालिकाको पोस्टमार्टमका लागि शव नारायणी अस्पताल वीरगन्जमा शव पठाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक महेन्द्र खड्काले जनाएका छन् ।

  • २९ श्रावण २०८१, मंगलवार ०९:२० प्रकाशित